आज कोशीबाहेकका प्रदेश सरकारको बजेट सार्वजनिक

काठमाडौं, कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ।

प्रदेश सरकारले हरेक वर्ष १ असारभित्र नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको छ।

मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षको भन्दा करिब ११ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको हो ।

बागमतीले पनि चालू आवको भन्दा सानो आकारको बजेट ल्याउने भएको छ । चालू आव ०७९/८० मा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षमा १० प्रतिशतसम्मले घट्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेश सरकारले ०८०/८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ। चालु आवमा प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख छ।

लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी छ। बजेटअघिको छलफलमा चालू आवको भन्दा २० प्रतिशत कटौती गरेर बजेट ल्याउने भनिएको थियो। चालु आवका लागि ४२ अर्ब ६३ करोडको बजेट ल्याएकोमा चैतसम्म १५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब ननाघ्ने गरी बजेटको तयारी गरिरहेको छ। यहाँको चालू आवको बजेट ३२ अर्ब ३१ करोड छ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालर आवका लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याएको थियो।

आगामी आवमा प्रदेशको कुल बजेट दुई खर्ब ७० अर्बहाराहारीको हुने देखिएको छ। चालु आवका लागि सात प्रदेशले तीन खर्ब पाँच अर्ब ४६ करोडको बजेट ल्याएका थिए ।