‘विप्लवले प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाए’

काठमाडौं, आहुती वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफूलाई प्रतिक्रान्तिको नेपाली लहरमा बगाएको बताएको छ ।

आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट प्रवक्ता जागृत रायमाझीद्धारा हस्ताक्षरित बिहीबार एक प्रेस विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपाले भने जस्तै कथित समाजवादी मोर्चाको नाममा संसदवादी पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु ‘भनेको अन्ततः दलाल पुँजीबादी संसदीय व्यवस्थालाई नै भरथेग गर्नु र प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाउनु भएको बताएको छ ।

साथै उक्त पार्टीले पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा गम्भीर वैचारिक विचलन, गम्भीर रणनीतिक र कार्यनीतिक अन्यौल र दलाल पुँजीवादी संसदवादीहरुसँग कथित समाजवादी मोर्चाको नाममा संसदवादको पुच्छर बन्ने प्रस्ताव आएपछि उक्त पार्टीले समाजवादी देशभक्त मोर्चाको औचित्य समेत समाप्त भएको ठहर गरेको छ ।

त्यस्तै विज्ञप्तिमा एमसिसिमा ल्याप्चे लगाउने माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू स्वयं दलाल पुँजीवादी संसदीय व्यवस्थाको मतियार हुन् र साम्राज्यवादका नेपाली एजेन्ट पनि उनीहरूसँग कथित समाजवादी मोर्चाको नाममा संयुक्त मोर्चा निर्माण गर्नु दलाल संसदीय पुँजीवादी व्यवस्था र साम्राज्यवादको पुच्छार भएको बताइएको छ ।

उक्त पार्टीले तत्काल समाजवादी देशभक्त मोचा’को औचित्यको समाप्तिको निर्णयमा पुगे पनि नयाँ सन्दर्भमा क्रान्तिकारीहरुको विचमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माणको निम्ति सदैव तत्पर रहेको समेत बताएको छ ।

केही समय देखी विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुत नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल विच ‘समाजवादी देशभक्त मोचा’ गठन गर्दै संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरू संचालित हुँदै आएका थिए ।

यस्तो छ विज्ञप्ति