यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण कार्यतालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्रीको साथ छोरी गंगासहित नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको पहिलो दिन प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

त्यस्तै उनले उपराष्ट्रपति जगदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन् ।दोस्रोदिन अर्थात् जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीससँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।वार्तापछि दुई प्रधानमन्त्रीले

संयुक्त पत्रकार सम्मेलन गर्ने जनाइएको छ । भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने जनाएको छ ।

साथै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनला सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो तेस्रो भारत भ्रमण हो । भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने पररीष्ट्र मन्त्रालयको विश्वास छ।

कार्यतालिका अनुसारका कार्यक्रम सकेर प्रधानमन्त्री २० जेठमा स्वदेश फर्किने जनाइएको छ।