रुकुम पश्चिम जीप दुर्घटना : मृत्तकको खुल्यो पहिचान

गम्भिर घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियो

रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी, बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी र उनका २२ दिने छोरा रोशन केसी रहेका छन् । दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत् पठाइएको हो । अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । घाइते केहीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । जीपमा १४ यात्रु सवार थिए ।