सरकारले बाघ मारेको जस्तो हल्ला गरिरहेको छ ः ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनपछि सरकार भ्रष्टाचारविरोधी च्याम्पियन खडा गरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भ्रष्टाचारविरोधी च्याम्पियन खडा गरेर सरकारले बाघ मारेको जस्तो उधुम हल्ला गरिरहेको बताए।

‘भुटानी शरणार्थी प्रकरणमा सरकारले छानबिन गर्नुपर्यो।, सन् २०१२ मा केही मान्छे अमेरिका छिरे भन्ने सुन्दैछु त्यसमा सरकारले छानबिन गर्नुपर्यो। सरकार बडा भ्रष्टाचार विरोधी च्याम्पियन आफू भएर आफूले के–के न बाघ मारेको जस्तो उधुम हल्ला गरिरहेको छ।

गृहमन्त्रीज्यू उधुम हल्ला गरिरहनुभएको छ। यसमा सरकारले जुँगाकमा ताउ लगाउनुपर्ने आवश्यकता देख्दिनँ। यो काण्ड अगाडिबाट चलिरहेको छ। यसमा गत वर्ष नै उजुर परेको रहेछ। किन गुपचुप राखियो? गिरफ्तार गरेका मान्छेलाई सट्याकसुटुक किन छोडियो,’ उनले भने।