भुटानी शरणार्थी टेकनाथ रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । सोही प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

दुई दिन हिरासतमा राख्न अनुमति

 जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ लाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।

रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो 

उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।

रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । सोही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।

उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।

उक्त घटनामा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।