प्रचण्डलाई माधव नेपालको चेतावनी- घमण्ड नगर्नूस्
सुर्खेत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्रको व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने -‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ । यसले गठबन्धन धरापमा पार्न सक्छ ।’ ‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस्। त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस्। मिलेर अगाडि बढ्नूस्।’
उनले थपे, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्यो, उसले लोप्पा खायो। अर्काेले फेरि घमण्ड गर्यो, उसले पनि लोप्पा खायो। अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ। थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नूस्।’ आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुग्ने उनले टिप्पणी गरे।
‘सबै कम्युनिस्टलाई मिलाउन हामी चाहिरहेकै छौँ, जो जोसँग मिल्न सकिन्छ, मिल्छौँ’, उनले भने, ‘तर यस्ता प्रवृत्तिहरू कायम छ भने मोर्चा सोर्चाले पनि हावा खान्छ।’