कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो अर्थमन्त्रीमा सिंह

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस निकट स्रोतका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ ।

निकट स्रोतका अनुसार सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।

कांग्रेसका अनुसार अर्थ मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छ । कांग्रेसभित्र बिसी संस्थापन इतर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् । यस्तै मन्त्रालयको सख्या ८ कायम गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।