उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा १० दलीय गठबन्धनबाट यादव उपराष्ट्रपतिमा विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले केही बेरअघि सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्। उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्।

विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो। उता पराजित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ जना सांसदको मत पाएकी छन्।

पराजित भएकी अष्टलक्ष्मीले प्रदेशतर्फ ८ हजार ११२ र संघतर्फ ८२१६ मतभार ल्याउन सफल भइन्। उनको पक्षमा जम्मा १६ हजार ३२८ मतभार ल्याइन्।

त्यस्तै तेस्रो नम्बरमा रहेकी जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन्। उनले २५ सय ३७ मतभार पाइन्। उम्मेदवारी फिर्ता लिएकी जसपाकै सांसद प्रमिलाकुमारीको पक्षमा पनि सांसदले मत दिएका छन्। उनको पक्षमा प्रदेशतर्फ ३ जनाले मत दिएका हुन्।