जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको खाल गर्नुपर्ने महासचिव विप्लवको चेतावनी छ ।

 

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटकपटक दोहोर्याए ।

जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो । ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र । जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ । त्यो पनि अपवाद हो’, उनले भने, ‘ जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो ।

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए ।