राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

आजै बुढानिलकण्ठ निजी निवासमा सर्दै

काठमाडाैँ, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्।  उनकोे निवासलाई सरकारले मर्मतसम्हार गरेर ठिक्क पारिदिएको छ। राष्ट्रपतिका रुपमा ७ वर्षभन्दा बढी जिम्मेवारी सम्हालेकी भण्डारी आफ्नो दोस्रो कार्यकालमा संवैधानिक सीमाभन्दा माथि रहेर सक्रिय बन्दा विवादित बनिन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।