शान्ति सम्झौता टुंगोमा पुर्याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
वाइसिएलको निर्णय अनुसार शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्ड, सातै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौताको कार्यान्वयन गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन माग राख्दै ज्ञापनपत्र बुझाउन लागिएको वाइसिएलका अध्यक्ष सुबोध सिरपालिले बताए ।
उनका अनुसार केन्द्रीय कमिटीले प्रधानमन्त्री प्रचण्ड, प्रदेश कमिटीले मुख्यमन्त्री र जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने छ ।
उनले भने, ‘शान्ति प्रक्रिया अझै टुंगो लागेको छैन । १६ वर्षसम्म पनि टुंगो नलाग्नु दुःखद हो । अब ढिलो गर्नु हुँदैन । पीडितले न्याय पाउनु पर्छ । ढिला न्याय दिनु भनेको न्याय नदिनु हो ।’
यस्तै वाइसिएलले शान्ति प्रक्रिया तत्काल टुंगो लगाउन दबाब दिन ७७ जिल्लामा कोणसभा पनि गर्ने भएको छ ।