शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्छौ : आठ दल
काठमाडौँ । माओवादी पृष्ठभूमिका विभिन्न आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
बालुवाटारमा मंगलबार बसेको आठ दलको बैठकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा दृढ रहेको जनाएका छन् ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ‘सङ्क्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौ’ ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, ‘प्रकाण्ड’ ,नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’,नेकपा (माओवादी समाजवादी)का अध्यक्ष, कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायणप्रसाद धिमाल रहेका छन् ।