‘प्रचण्ड’को अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।

२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।