जहाँ मरेर पनि ‘मर्नुपर्दैन’ मान्छेले

इण्डोनेशिया विश्वको यस्तो मुलुक हो, जुन १७ हजार टापु मिलेर बनेको छ । क्षेत्रफलको आधारमा यो विश्वको १४ औं मुलुक हो भने जनसंख्यामा चौथो, यहाँको जनसंख्या लगभग २८ करोड छ । ८७ प्रतिशतले मुस्लिम धर्म मान्छन् भने, १ हजार ३ सय ४० जातिका आदिवासी–जनजाति बसोबास गर्छन् । यिनीहरूमध्ये सबैभन्दा धेरै जाभाली छन् । २० लाख वर्षअघि नै यहाँ मानव बस्ती बसिसकेको ‘जाभा मानव’ को उत्पत्ति थलो मानिन्छ । यो मुलुक सन् १९४५ मा नेदरल्याण्डबाट स्वतन्त्र भएको हो । 

तोराजा यहाँका १ हजार ३ सय ४० जाति, जनजातिमध्येको एक हो । यिनीहरूको मुख्य बसोवास क्षेत्र दक्षिण सुलावेसीमा पर्छ । सुलावेसी टापु समूह हुनुका साथै यो इण्डोनेशियाको एउटा प्रान्त पनि हो । यहाँको जनसंख्या ११ लाख छ भने यीमध्येका ४ लाख ५० हजारको बसोवास क्षेत्र टाना तोराजा अर्थात तोराजाहरूको भूमिको नाउँले चिनिन्छ । तोराजाहरू अधिकांशले इसाइ धर्म मान्छन् भने केही प्रतिशत मुस्लिम् छन् । इण्डोनेशियाका ५० लाख जनसंख्याले बुगिस भाषा बोल्छन् । तोराजाहरू पनि यही भाषा बोल्छन् । यो भाषामा तोराजाको अर्थ हुन्छ, ‘माथिल्लोभेगमा बस्ने मानिस’ । तोराजाहरू अधिकांशले इसाइ धर्म मान्छन् भने केही प्रतिशत मुस्लिम छन् । सन् १९४५ सम्म सम्पूर्ण इण्डोनेशिया डचहरूको कब्जामा थियो । यिनैले रियाजालाई तोराजा भन्न थालेका हुन् र डचहरूले नै तोराजालाई इसाइ बनाएका हुन् । तोराजा आदिवासीको जन्म, मृत्युलगायत तमाम संस्कार अचम्मको रहेकै कारण टाना तोराजा क्षेत्र सन् १९७० सम्म पर्यटकका लागि खुला गरिएकै थिएन ।

संसारको जुनसुकै कुनामा बसेका, जुनसुकै जातिका, धर्मका नै किन नहुन् आफ्ना परिवारजन र आफन्त गुमाउनुपर्दा शोक मनाउनु स्वाभाविक हो । तर, तोराजाहरू मान्छे मर्दा पनि शोक मनाउँदैनन् बरु खुशी मनाउँछन् । यो समुदायका मानिसले आफ्ना मान्छेलाई यति धेरै प्रेम गर्छन् कि मृत्युपछि पनि अलग गर्न सक्दैनन् । मरिसकेकालाई ज्यूँदो नै मान्छन्, जिउँदो मानिस सरहको व्यवहार गर्छन् । लासलाई सामान्य मानिसलाई जस्तै लुगाफाटो लगाइदिने, सिँगार्ने तथा सँगै बसेर फोटो खिच्ने गर्छन् । विशेष समारोह आयोजन गर्छन् । शवलाई घरमा ठीक उसैगरी राखिराख्छन् जसरी व्यक्ति मृत्युअघि बसेको हुन्छ । लासलाई बिरामी व्यक्ति ठान्छन् र सोहीअनुरूप व्यवहार गर्छन् । मृतकको सम्झनामा वर्षैपिच्छे श्राद्ध गरेर शोक मनाउँदैनन् बरु कार्यक्रमको आयोजन गरेर खुशियाली मनाउँछन् । मानौं एककिसिमले यो वार्षिकी उनीहरूको निम्ति चाड नै हो । 

हामीले मनाउने चाडबाडमा जस्तै त्यो दिन परिवारजन र आफन्तजन सबै जम्मा हुन्छन् । चिहानमा जान्छन्, जमीन खनेर शवलाई निकाल्छन् । शरीरलाई सजाउँछन् । नयाँ र राम्रो लुगा लगाइदिन्छन् । सिंगारेर सकुञ्जेल सुन्दर बनाउँछन् । तोराजाहरू यसो गर्दा पूर्वजहरू खुशी हुन्छन्, अन्नपात राम्रो उब्जन्छ भन्छन् । तोराजाहरूले यो पर्व मनाएको हेर्न देशभरिका आन्तरिक पर्यटक यो स्थानमा आइपुग्छन् । यो उत्सवलाई ’मैनन हार्भेस्ट कटर्स फेस्टिभल’ नामकरण गरिएको छ । यो पर्व प्रत्येक ३ वर्षमा मनाउने गरिन्छ। यो पर्व मनाउनुको उद्देश्य मृत्युलोकमा पुगिसकेका आफन्तजनलाई आफ्ना परिवारका सदस्य र नातेदारहरूसँग भेट्न दिनु रहेको छ । यो पर्व मनाउने क्रममा बिहेको जन्तीमा गएसरह मानिसहरू सजिएर चिहानतर्फ जान्छन् । सबै मिलेर जमीनमुनी गाडिएको शव निकाल्छन् । केही समय घाममा सुकाउँछन् । त्यसपछि शरीर सफा गर्छन् । कपाल काट्न र नुहाउन लगाउँछन् अनि रंगीचंगी र महँगो लुगा लगाइदिन्छन् । यसरी पूरा तयारी सकेपछि लावालस्करसहित हिँडाएरै ल्याउँछन् । जात्रा गरी गाउँ घुमाउँछन् । शव घुमाइसकेपछि राँगा र सुँगुरको बलि चढाउँछन् । यसो गर्दा मृतक स्वर्गमा पुग्ने विश्वास गर्छन् ।

मारिएका राँगाको सिङ घरको छतमा सजाउँछन् । शवलाई लठ्ठीको भरमा ठड्याउँछन् र कुरोकानी गर्छन् । यहाँसम्म कि पुरुष हुन् भने चुरोटसम्म पनि सल्काउन दिन्छन् । यो समारोह तीन दिनसम्म चल्छ । कार्यक्रममा सहभागी सबै खुशी हुन्छन् किनभने यसमा रोनाधोना पूर्णत वर्जित गरिएको हुन्छ । नाच्छन्, गाउँछन्, राँगा जुधाएर रमाइलो गर्छन् । पहिला–पहिला समारोहमा केटाकेटीमै मृत्यु भएकाहरूको शव सामेल गर्दैनथे तर आजभोलि नवजात शिशुको शव पनि सजाएर घुमाउन थालिएको छ । समारोहमा शवहरू थुप्रै हुन्छन् । उत्सवमा युवकहरू बध गरिएका राँगा र सुँगुरको रगत लतपतिएको लामोलामो बाँस नचाउँछन् । उत्सवको एउटा मुख्य भाग कुखुराको भाले लडाउने खेल पनि हो । यसलाई स्थानीय भाषामा ‘बुलाङन लोन्दोन’ भनिन्छ । राँगा र सुँगुरको बध र भाले जुधाइलाई उनीहरू उत्सवको पवित्र अंग मान्छन् किनभने यसले धर्तीमा रगत बगिराखेको संकेत गरिरहेको हुन्छ । समारोहमा जुधाउन कम्तीमा २५ जोडी भाले चाहिन्छ भन्ने मान्यता छ ।

तोराजाहरू मृतकको अन्तिम संस्कारलाई ‘रंबू सोलो’ भन्ने गर्छन् । यो संस्कारलाई भब्य तवरमा सम्पन्न गर्नुपर्छ भनेर कमाएको धन जम्मा पारेर राख्छन् । त्यसैले यो धेरै महँगो संस्कार हो । कहिलेकाहीँ त आफन्तको मृत्यु भइसक्दा पनि यो संस्कार सम्पन्न गर्न पर्याप्त धन छैन भनेर केही नगरी बस्छन् । यसो भयो भने लासलाई नसड्ने औषधि हालेर सुरक्षित राख्ने गरिन्छ । अझ कसै–कसैले त सबैले देख्ने गरी सिसा भएको दराजमा सजाएर राख्छन् । अन्तिम संस्कार नगरुञ्जेल जिउँदो मानिसलाईजस्तै व्यवहार गर्छन् । ‘रंबू सोलो’ सम्पन्न नहुञ्जेल मृतकलाई मृतक मान्दैनन्, बिरामी मात्र मान्छन् । दैनिक खाना ख्वाउने गरिन्छ, स्वास्थ्यबारे सोधपुछ गरिन्छ । आफन्तहरू पनि बिरामीलाई सरह खानेकुरा र फलफूल बोकेर भेट्न आउँछन् । अन्तिम संस्कारको अर्को रोचक पक्ष भैंसीको वध हो । मर्ने व्यक्ति जति शक्तिशाली हुन्छ, उति धेरै भैंसी काटिन्छन् । मृतकलाई यात्राका लागि भैंसी चाहिन्छ र जति धेरै भैँसी भयो उति चाँडो मृतक स्वर्ग पुग्ने विश्वास गरिन्छ । धेरैभन्दा धेरै भैँसी र सयौं सुँगुरको बध गरेर मृत्युभोज खाने गरिन्छ । अन्तिम संस्कारको दिन मारिने कतिपय राँगा भोजमा सरिक हुन आउने आफन्तले उपहारस्वरूप ल्याइएका हुन्छन् । राँगा ल्याएर उनीहरू आफूलाई मृतकको परिवारको ऋणी हौं भन्ने देखाउँछन् ।

यो विचित्र परम्पराको शुरुवात सयौं वर्षपहिले भएको मानिन्छ । भनिन्छ, एक जना शिकारीले कुहिसकेको एउटा शव भेट्टाए । र, राम्रोखाले लुगा लगाउन दिए । राम्रोसँग सजाएर पुनः जमीनमुनी गाडे । यस्तो गरेको केही समयपश्चात भाग्य चम्कियो । उनी निकै धनी बने । यो खबर चारै दिशामा फैलियो । तोराजाहरूले ती शिकारीको भाग्य चम्केको लोभ गर्दै त्यसै गर्न थाले र कालान्तरमा यो परम्पराले पर्वकै रूप लिन पुग्यो । गाउँलेहरू यो पर्व मनाउँदा मृतक आफन्तहरू सम्मानित हुने गरेको विश्वास गर्छन् । त्यसैले पनि उत्सवको दौरान कसैले शोक प्रकट गर्न नपाउने उर्दी जारी गरिएको हुन्छ । उनीहरू भन्छन्, ‘यो हाम्रो लागि खुशीको दिन हो, किनभने यो तीन दिनमा मृतक आफन्तहरू हामीसँग भेट्न आएका हुन्छन् । हामी उनीहरूप्रति सम्मान प्रकट गर्छौं, बदलामा उनीहरूले हामीलाई खेतीपाती राम्रो हुने आशीर्वाद दिन्छन् ।’  जन आस्था