विद्रोही मनोदशाको प्रतिबिम्ब हो थबाङ

अनि तकसेरा पुग्यौँ

मलाई यात्रा संसारको सर्वाधिक ठूलो विश्वविद्यालय जस्तो लाग्छ । फरक मान्छे, फरक व्यवहार, हरेक मान्छेका अनुहार देखिने भाव फरक, चमक फरक, प्रकृतिका बान्की फरक, खानाका स्वाद फरक, पानीका मूल फरक, गाईनेका धून फरक त्यसैले यात्रामा जीवनका हरेक इन्द्रेणी भेटिन्छन् । तर जहाँ गएपनि मानवतावाद नै जीवनको मूल चुरो भएर प्रकट हुन्छ ।

भेडीगोठमा जीवन समर्पित गरेकाहरु जीवनको वास्तविक स्वादमा रमाएको भेटिए । अक्करमा संघर्ष गर्नेहरु नै बलशाली भेटिए । रोल्पाको थवाङ जहाँ देश, भूगोल, नेपाली जनताको जीवनस्तर कायाकल्प फेर्ने संकल्प लिएको भेटियो । जहाँबाट परिर्वतनको युगान्तकारी अभियान थालिएको थियो, त्यही माटो अहिले चराले छोडेको गुँडजस्तो अवस्थामा रहेको भेटियो । नेताका प्रतिवद्धताहरु पानीमा लेखिएका अक्षरजस्ता भएका छन् । यद्यपि जनताको काम भोट दिने र नेता जन्माउने सनातनी कर्म आज पनि भइरहेकै छ । भूइँमान्छेहरुका साझा गुनासा छन् । अझ गुनासा सुन्नेहरु गुनासाका सातपत्र लिएर बसेका छन् । तमाम प्रश्न छन, उत्तर छैनन् । थाहा छैन– यो सिलसिला कहिलेसम्म चलिरहन्छ । बागमती टेलिभिजनले जुराएको यो अभियान र कर्म जारी छ । कर्मप्रतिका आ आफना बुझाई हुन्छन तर कर्म छोड्नुहुन्न । आखिर त्यही नरम पानीको धक्काले नै त त्यो कठोर चट्टान खियाउने हो नि ।

यसरी शुरु हुन्छ यात्रा

देशको परिबेश बदलिएसंगै राजनितिको लवज बदलियो । कुनैबेला द्वन्द्वको चरम चपेटामा परेका तकसेरा, महत, थबाङहरु पनि बदलिए । मुलुकको राजनीतिको घट्ट झैं गाउँघर पनि बदलिन सुरु गरेका छन । हिमालका टुप्पाहरुमा मसिना बादलका सेता धर्साहरु मडारिँदै थिए । तीन बीस नाघेका बृद्धजस्तै शिरफूलझैं हिमालहरु हाँसिरहेका थिए । गाडीले पोखराको मस्त बजारको भिड छिचोल्दै थियो । मौसमले चिसो सुरु भइसकेको छनक दिइरहेको थियो । हाम्रो यात्रा भने पहाडी भूभाग छिचोल्दै मध्यपहाडी लोकमार्ग हुँदै हिमाली जिल्लातर्फ अगाडि बढ्दै थियो । उच्च पहाडी क्षेत्रमा तुसारो पनि हिउँजस्तै देखिन्थ्यो कहिल्यै हिउँसंग जम्काभेट नभएकालाई रामै्रसंग झुक्याउँथ्यो ।

पोखराबाट कुश्मा पर्वत हुदै बागलुङका लागि गाडीे बाटो पहिल्याउँदै अगाडि बढ्यो । हिमालतिर आँखा जुधाउँदै हिँड्दै गर्दाको त्यो क्षण भनिसाध्य छैन । गाडीको यात्रा कष्टपूर्ण र झ्याउलाग्दो भए पनि यात्रामा देखिने दृश्यावलोकनले ती कष्ट समुद्र भेटेपछि खोला हराएझैं विलीन हुन्थ्यो । उच्च पहाडी चट्टानबाट खोलानाला ठूला ठूला झरनाहरू यात्रा साँच्चै मनमोहक लागिरहेको थियो । जति जति माथि लाग्यो, हावाको बेग बढ्दै थियो । आकास र पाताल जोडिएको भान हुन्थ्यो । प्रकृतिले हावाभित्र एउटा गमक मिल्काएझैं हामी त्यसैभित्र रमाइरहेका थियौं ।

प्रकृतिको त्यो छट्टाभित्र कहिले चिच्याउन मन लाग्थ्यो त ती भीमकाय पाटनमा लडीबुडी गर्ने चाह बढ्थ्यो । हामी बाग्लुङ हँुदै रोल्पा, रुकुम र बागलुङको सीमावर्तीमा रहेको पातिहाल्ना पुग्यौँ । त्यो रात त्यहीँ गुजारियो । चिसो वाताबरणमा आगोको मजा लिदै रात बितायौँ । पातिहाल्ना पछिल्लो समय गतिलो पर्यटकीय गन्तव्य बनेको रहेछ । मुटु काँप्ने जाडो र कठ्याँग्रिदो मौसमबीच नयाँ ठाउँको उत्सुकतासहित झमक्क साँझमा हामी पातिहाल्ना गल्छेडा पुग्यौँ । बास पाइन्छ या पाइँदैन बस्ने होटल छन या छैनन हामीलाई कौतहलता थियो । हामीले गाडी रोक्यौँ । पातिहाल्ना भन्ज्याङमा दुईवटा मात्रै होटल रहेछन । हामी एउटामा बास माग्दै भित्र पस्यौँ ।

युवाको सानो जमात आगो ताप्दै गफिरहेको थियो । लोलीमा बोली मिसाउँदै त्यही आगोको रापको पाहुना बन्यौं । पूर्वी रुकुमको भूमे गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको संगम पातिहाल्ना आजभोलि आन्तरिक पर्यटनको गज्जव आकर्षण बनेको दृश्यले हर्षविभोर बनायो । सडक यातायातको तागत कस्तो हुन्छ भन्ने यो दृश्यले पुष्टि गरेको भान भयो । केही वर्ष अघिसम्म पातिहाल्ना भनेको कहाँ हो भन्ने धेरैलाई थाहा थिएन । मध्यपहाडी लोकमार्गले गर्दा यो ठाउँ एकाएक चर्चामा आउन थालेको छ ।

पातिहाल्नाको चिसो हावापानी मनमोहक पाटनको दृश्यले सबैको मन लोभ्याउँछ । पातिहाल्ना जाने कारण अर्को छ तिलाचन दहदेखि रोल्पा, पूर्वी रुकुम र बाग्लुङ तीन जिल्लाको अधिकांश भूगोल अवलोकन गर्न सकिने भएकोले पर्यटकको परखमा यो क्षेत्र उत्कृष्ट बनेको हो । बागलुङ, रुकुम पूर्व र रोल्पाको सिमाना एवं मध्यपहाडी लोकमार्ग र सुन्दर पातिहाल्ने भञ्ज्याङ रुकुमपूर्वको भूमे गाउँपालिका र बाग्लुङको निसिखोला गाउँपालिकाबीचको सीमामा अवस्थित छ ।

अनि तकसेरा पुग्यौँ

तक र सेरा दुई छिमेकी गाउँ । बाक्ला बस्ती , शान्त र सौम्य परिवेश । ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगंगा नदीले छुट्याएको छ । स्थान र नाम फरक भए पनि यी दुई गाउँ भिन्न छैनन् । बाहिरबाट जाने सबैलाई लाग्छ तकसेरा गाउँ एउटै हो । तर त्यस्तो छैन तक र सेरा मिलेर एउटा गाउँको नाम बनेको छ । तकसेरा नाम यसैको संयुक्त रूप हो । तकमा बस्ने तकाले र सेरामा बस्ने सेराल । यसरी तकसेरा गाउँ बनेको छ । माओवादी जनयुद्धका बेला तकसेरा निक्कै चर्चित थियो । माओवादीले तकसेरा चौकी माथि जनयुद्ध सुरु गर्दा नै आक्रमण गरेका थिए । मलाई त्यो गाउँको परिवेश कस्तो होला ? तकसेराका सपना बदलिए होला कि उस्तै होलान ? थुप्रै खुल्दुलीबीच हामी त्यहाँ पुगेका थियौँ ।

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक, सांँस्कृतिक, भाषिक, हिसावले विविधता बोकेको जिल्ला हो । यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पर्यटकीय हिसावले अझ महत्वपूर्ण छ । यहाँको सुौन्दर्यमध्ये अग्रस्थानमा आउने नाम हो– तकसेरा गाउँ । चिटिक्क मिलेको बस्ती, प्राकृतिक सौन्दर्य अनि यहाँको मगर संस्कृति प्रमुख विशेषता हो । गाउँपालिका केन्द्र समेत रहेको तकसेराका तकगाउँ, तल्लोसेरा, उपल्लोसेरा चर्चित ठाउँ हुन । तकसेराको छेउमा बग्ने उत्तरगंगा, नजिकै बग्ने छेराखोलाले तकसेरा गाउँमा थप सौन्दर्य थपेको छ । एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारीका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिन साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ । रुकुमका उत्तरपूर्वी भेगका बस्तीका विशेषता भन्नु नै यही हो । तकसेरा गाउँ यसको एउटा उदाहरण हो ।

जब महत पुगियो

‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती’ मनै लोभ्याउने हरिया पहाडको न्यानो आतिथ्य । गाउँको सिरानमा तात्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । यो महत गाउँ हो । जहाँ सशस्त्र द्वन्द्व अन्त्य भएको दशकौँ भइसकेको छ । तर तपाईलाई दश बर्षे युद्धको झल्को चौकी चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तात्कालिन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको सालिक, चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तात्कालीन डीएसपी ठूले राईको अपहरण सन्देश, केही शवका चित्रले फेरि त्यही विगत स्मरण गराउँदछ । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैको शान्ति स्मारकले सबैलाई युद्धको घाउमा मल्हमपट्टी लगाउँछ । तात्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादीबीचको दोहोरो भिडन्त, माओवादी आक्रमण, राज्यको एकोहोरो चेपुवामा निसासिएको रुकुमपूर्वको महत गाउँको कहानी यसै पार्कले सम्झाउँछ ।

शान्तिको चिर कामना गरिरहनसमेत प्रेरित गर्छ । भूमे गाउँपालिकाले यहाँको ऐतिहासिक भूमिलाई युद्ध पर्यटनका रूपमा चिनाउन बनाएको युद्ध स्मारक पार्कको यो विशेषताले सबैलाई मोहित पारेको छ, आकर्षण बढाएको छ । महत गाउँमा लडाइँ कसरी भयो भन्ने जिज्ञासा महत गाउँको सिरानसँगैको भित्तामा टाँसिएको चित्रले देखाउँछ । जसको संरक्षण गरेर गाउँपालिकाले युद्ध पर्यटनको ढोका खोलेको छ ।

चितवन र दाङबाट दक्ष कालिगढहरू ल्याएर गाउँपालिकाले गाउँमै मूर्ति बनाएको हो । भूमे गाउँपालिकाको परिकल्पनामा निर्माण भएको यो युद्ध स्मारक पार्कमा मूर्ति, प्रहरी चौकी, महत गाउँ, उद्धारका लागि आएको हेलिकोप्टर, विद्यालयको चित्र सजाइएको छ । गाउँको बीचमा ‘हामी शान्ति चाहन्छौँ’ भन्ने सन्देश दिन बुद्धको मूर्ति बनाइएको छ । गाउँको सिरानमा निर्माण गरिएको युद्ध फिचरमा दुई पक्षबीचको लडाइँको दृश्यलाई प्रदर्शन गरिएको छ । जसले युद्ध अब स्मरणमा मात्रै रहोस् भनेर सन्देश दिन खोजिएको छ । सशस्त्र द्वन्द्वका बेला माओवादीले नेपाल प्रहरी उच्चस्तरको अधिकृत अपहरण गरेको यो पहिलो घटना हो ।

त्यो थबाङ, यो थबाङ

मुलुकमा भएको १० बर्षे जनयुद्धको प्रतिबिम्ब हो, थबाङ । जनयुद्धको मनोदशाको प्रष्ट चित्र हो, ऐना हो थबाङ । थबाङको कान्ला कान्लामा भेटिएका हरेक मानिससँग युद्धका तीता र मिठा भोगाइ छन् । युद्धका आ–आफ्ना कथाव्यथा छन् । युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउँदाको पीडा छ । द्वन्द्वले बनाएको घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् ।

न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ । एक दशक कहिले जंगलमा लुक्दै त कहिले युद्धमा सरिक हुँदै हिँड्न बाध्य भएका थबाङबासीको दिनचर्या हिजोआज भने पूरै बदलिएको छ । राज्यबाट जहिल्यै उपेक्षित थबाङलाई सडकले जोडेको छ । गाउँको छेउमा शहीद मार्गले दाङ–रोल्पालाई नजिक्याएको छ । शान्ति नमूना गाउँ अन्तर्गत अहिले थबाङको ठूलो गाउँमा ढुंगा बिछ्याइएका छन् । बस्तीका सडकमा विछ्याएका ढुंगा हरेक घरसँग जोडिएका छन् । युद्धमा ज्यान गुमाएका शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण गरिएको छ । आन्तरिक र वाह्य पर्यटन भित्र्याउन गाउँमै होमस्टे सञ्चालन गरिएको छ । युद्ध पर्यटनका हिसाबले निक्कै संभावना बोकेको यो धरा विकासको पर्खाइमा छ ।