बन्दुकबाट जन्मिएको मेरो कलम

आज म कलम बोकेर हिडेको छु । कसैका व्यथा बोल्न, कसैका आवाज बोल्न, कसैका शब्द भाव बोल्न अनि कसैका वास्तविकता र शाश्वत अधिकार बोल्न । मैले सुनेको नेपाललाई आज मलाई सम्झिन निकै मन लाग्यो । त्यो नेपाल, जहाँ कलमको आफ्नै आवाज थिएन र कलमजीवीको आफ्नै अस्तित्व थिएन । हुनत हाम्रो इतिहासले थुप्रै लेखक जन्मायो, थुप्रै साहित्यकार जन्मायो । यसको अर्थले भन्न सकिन्छ कि मैले सुनेको नेपालमा पनि कलमले आवाज निकाल्न सक्थ्यो । कलमजीवीको पनि कहिँकतै अस्तित्व थियो । तर ती कलमले केवल साहित्य लेखे । ती कलमले मात्रै कपोकल्पित कथा, कविता र काव्य सिर्जना गरे । तर ती कलमले कसैको अधिकार लेखेनन् । कसैका आवाज उगेलेनन् र कसैका भाव समेटेनन् । यस अर्थमा भन्न सकिन्छ कि मैले सुनेको नेपालमा कलमको आवाज पनि परिचालित थियो कसैको कन्ट्रोलर रिमोटद्वारा र कलमजीवीको अस्तित्व पनि केवल कसैको छत्रछायामा हुर्केको थियो । कसैको कसौंडीको बचेकुचेको खाएर जीवित थियो । कदाचित ! त्यहाँ कलमको स्व-आवाज थिएन र कलमजीवीको स्व-अस्तित्व थिएन ।

मैले सुनेको नेपालमा कसैका कलमले स्वतन्त्र आवाज बोलेमा उसको कलमसंगै कलम चलाउने हात पनि भाँचिन्थ्यो । अझ कतिपयको त टाउको पनि छिनाइन्थ्यो । उदाहरण खोज्न निकै टाढा जानू पर्दैन, मात्रै सुब्बा कृष्णलालको ‘मकैको खेती’ सम्झिए पुग्छ । सुब्बा र उनको मकैको खेती केवल एक प्रतिनिधि हो, जो देखियो र लेखियो । तर यस्ता देख्न नसकिएका र लेख्न नसकिएका सयौं कृष्णलाल र सयौं खेतीहरु छन् इतिहासमा । शाह हुँदै राणा, प्रजातान्त्रिक व्यवस्था हुँदै पञ्चायतसम्म कतै पनि कलमको स्व-आवाज देखिदैन, जसले क्रान्ति बोलोस्, जसले मानवता बोलोस् र जसले रुपान्तरणको पक्षमा वकालत गरोस् । जसले सभ्य स्वतन्त्र मनुष्यताको आवाज बोलोस् । जसले सदिऔँ देखि क्रूर शासन र व्यवस्थाको पैतालामुनि दबिएको मनुष्यतालाई आजाद गराउनको निम्ति त्यो निर्मम र असभ्य क्रूर पैतालालाई घचघचाउन सकोस् । चिर्न सकोस् ।

तर कसैले क्रूर शासन र व्यवस्थाको भयानक दबिलो पैतालामुनि थिचिएको मानवताको चीत्कार सुन्न सक्यो । कसैले महसुस गर्न सक्यो उसको पीडा । अनि उ बोल्यो त्यही मानवताको चीत्कार सहितको उग्र आवाजमा व्यवस्थाको विरुद्ध धावा । जो क्रान्ति बन्यो ।

बन्दुकको नालको बलमा अडिएको मैले सुनेको नेपालको राज्यसत्ता उबेलाको वर्ण र सामाजिक व्यवस्थाको पनि पृष्ठपोषक रह्यो । त्यहाँ समाज र मानवता बन्दुकको नालको बलमा जम्यो । अब क्रूर असभ्य शासकको पदमुनिको मनुष्यता कस्तो थियो होला ? त्यो बुझ्न हाम्रा दिमाग कच्चा छन् र त्यो महसुस गर्न हाम्रा हृदय कमजोर छन् ।

सुरुवातमा उसले बोलेको आवाजका विरुद्ध पनि बन्दुक नै तेर्सियो । उसको आवाज बोल्ने कलमका विरुद्ध पनि बन्दुक नै तेर्सियो र प्रहार गर्‍यो उसको कलमको छातीमा । फलस्वरूप उसको कलम ध्वंस भयो । उसको निरीह निर्दोष कलम चकनाचुर भयो । त्यो कलमसंगै उसको आवाज पनि घायल भयो । उसले फेरि कलको माध्यमबाट आवाज पोख्न असक्षम भयो । जहाँ कलमको हत्या गरियो त्यहाँ मानवताको सिद्धान्त कसरी उदित हुनसकोस् । मानवताको आवाज कसरी बुलन्द हुनसकोस् । अहँ ! त्यसो हुनसक्ने कुनै आधार र सम्भावना थिएन । किनकि निरंकुश र क्रूर राज्यसत्ता अनि त्यसको व्यवस्थाले उसको मानवता बोल्ने, अधिकार बोल्ने कलमको निर्ममतापूर्वक हत्या गरिसकेको थियो ।

एकातिर हाम्रो धर्म परम्पराले सिकायो कि हत्याहिंसा मानवताको विरुद्ध छ । नैतिकता र प्राकृतिक मर्यादाको विरुद्ध छ । संहार प्रकृतिको अविराम शाश्वत नियमको पक्षमा हुन सक्दैन । अर्कोतिर हाम्रो शासन पद्धतिले सिकायो कि आफ्नो विरुद्ध उठ्ने आवाज दवाउनको निम्ति, आफ्ना विरुद्ध हुने गतिविधि रोक्नको निम्ति र आफ्नो सिंहासन जोगाउनको निम्ति मानिसको बलि दिनुपर्छ । हिंस्रक नरसंहारक बन्दुकको सहायताले रगतको सिंचाइ गर्नुपर्छ र लासहरुको सिढी निर्माण गरिनुपर्छ । जहाँ उच्च अखण्ड सत्ता कायम रहोस् र त्यसको मुनि सँधै मानवता ज्युदो मुर्दाको हालतमा रहोस् । उसले कहिल्यै बोल्न नसकोस् । उसले कहिल्यै आवाज निकाल्न नसकोस् र कहिल्यै स्वतन्त्रता र अधिकार माग्न नसकोस् ।

उसका विरुद्ध उर्लिएका बम बारुद र बन्दुकले छियाछिया पार्‍यो उसको कलम, उसको कलम चलाउने हात र स्वतन्त्र मनुष्यता माग्ने उसको मुख । तर उसको हृदय भित्रको विद्रोहको ज्वाला निभाउन सकेन । उसको समुच्च स्वतन्त्र मनुष्यताको अभिलाषा मार्न सकेन । उसको उच्चतम चेतनाको रणनीतिक क्रियाशीलता, बिद्रोह र क्रान्तिमय भावले परिपक्व गहन हृदयको ज्वाला निर्मुल पार्न सकेन । अन्तमा त्यही एक विशाल क्रान्तिको स्वरुपमा अस्तित्वमा आयो र आज म अनि म जस्ता हजारौंका कलमले अस्तित्व पाए । आज म अनि मजस्ता हजारौं मानिसहरु कलमको निवमा आफ्नो र आफ्नो सभ्यताको सुनौलो भविष्य खोज्न स्वतन्त्र भएका छन् ।

बन्दुकको नालमुनिको मनुष्यतामा कहाँ उसको आवाज र कलम सक्षम हुन्थ्यो र परिवर्तनको ध्वजा लहराउन अनि म र मजस्तोका निरीह कलमको मौलिक बोली फुटाउन । त्यो सम्भव थिएन । त्यसैले उसले पनि ‘जस्तालाई त्यस्तै’ को सिद्धान्तमा व्यवहारीक तवरले उभिनु पर्‍यो । अर्थात् ‘क्रुरताको जवाफमा क्रूरता, बन्दुकको जवाफमा बन्दुक ।’ हिंसाको जवाफ हिंसाले दिनु हाम्रो सभ्यताको मार्गदर्शन होइन र जहाँसम्म यो मानवताको चाहाना पनि होइन । तर भनिन्छ नि ‘लातको भुत बातले मान्दैन’ । त्यसैले उसले लातको भुतको विरुद्ध लात उठायो र त्यसको छातीमा कस्सेर मार्‍यो ।

उसले लात उठाउँदा लातको भुत पनि कमजोर थिएन । उ जंगियो, विरोध गर्‍यो र प्रहार गर्‍यो । लातको भुतले बन्दुक चलायो र त्यसको विरुद्ध लातले पनि बन्दुक नै चलायो । किनकि ‘जस्तालाई त्यस्तै’ भन्ने मार्ग पनि देखाएको थियो हाम्रो सभ्यताले र देशमा लात चलिरहे । प्रहार भैरहे । गोली बारुद बर्सिरहे । एकातिरबाट क्रूर सत्ताको निर्मम लात बर्सिरहे र तिनले केवल आवाज उठाउनेलाई मात्रै होईन बरु तिनको समर्थन गर्ने लगायत सोझासाझा निरीह लातबिहीन प्राणीलाई पनि सिकार बनाइरहे । तिनै निर्दयी निर्मम लातका विरुद्ध उठेका सत्ता र व्यवस्था बिरोधि बन्दुकहरुले पनि ती लातहरुलाई परास्त गर्नका निम्ति संघर्ष गरिरहे । मारिरहे र मरिरहे । शत्रुको रगतको नदिमा आफ्नो प्राण बगाइरहे । क्रान्तिको पञ्चाग्निमा आफ्नो जीवनको आहुती दिइरहे । तब पो आज मेरो कलमले बोल्न पाएको छ ।

मेरो सभ्यताले सिकाएको अहिंसाको उल्लंघन उसले पहिलोपटक गर्‍यो त्यही हिंस्रक सत्ता र निर्जीवन व्यवस्थाको हिंसाबाट मेरै मानवतालाई बचाउनको निम्ति । उसले त्यो क्रूर शासनको अँध्यारो कालो छत्रछायाको मुनि दबिएका मानवका मुखुण्डाहरुलाई भन्यो कि यो जमीनमा केवल तिम्रो शाशकको मात्रै होइन तिम्रो पनि आत्मा छ । तिम्रो पनि जीवन छ र तिमीलाई पनि प्रकृतिले आवाज दिएको छ । त्यो आत्माको अनुभव गर, त्यो जीवन बाँच र त्यो आवाजले आफ्नो अधिकारलाई पुकार । तब उसले क्रुर सत्ता र व्यवस्थाको बन्दुकको नाल अघि आफूलाई ढाल बनायो र मजस्ता लाखौं मानव मुखुण्डाभित्रको सुषुप्त मौलिक मनुष्यतालाई पुनर्जागृत हुन आह्वान गरिरह्यो ।

उसले बन्दुक उठाएको हो बन्दुकका विरुद्ध । उसले लात उठाएको हो लातका विरुद्ध । उसले पहिलोपटक हिंसा गरेको हो हिंसाको विरुद्ध र उसले पहिलोपटक धर्म स्थापनाको निम्ति अधर्म गरेको हो अधर्मको विरुद्ध । तब आज उसलाई हामी आलोचना गरिरहन्छौँ, टिप्पणी गरिरहन्छौँ । उसलाई उपमा दिइरहन्छौँ हत्यारा, ज्यानमारा तथा सत्र हजारको खुन पिउने सैतानको । किनकि यो सभ्यता नै यस्तै हो, यहाँ अर्काको लागि लड्नेको कहिल्यै सदगती हुँदैन । कहिल्यै जयजयकार हुँदैन । जसले अरुको जीवनको पुकार गर्छ यो सभ्यतामा उसको जीवन कहिल्यै सम्मानको उचाइमा पुग्न सक्दैन ।

उसको आवाजले गलती गरेको थिएन । उसको आवाजले म र मजस्ता निरीह जीवलाई भन्यो कि तिमी केवल दास होइनौ नत तिमी पशु नै हौ । यो प्रकृतिमा पशुको समेत स्वतन्त्र जीवन छ भने तिमी झन् मानिस हौ । तिमीले आफूभित्रको मानिसलाई खोज र जगाउ । त्यसैले त आज म यसरी कलमको माध्यमले बोल्न पाएको छु र मानिस हुँ भनेर छाती पिट्न पाएको छु । नत्र त मैले सुनेको नेपालले मेरा पुर्खाहरुलाई दास बनाएको थियो । सत्ताको कठपुतली बनाएको थियो । मनपरि कोर्रा बर्साउन मिल्ने जनावर बनाएको थियो । मेरो पुर्खालाई मैले सुनेको नेपालले दलित बनाएको थियो, जनजाति बनाएको थियो, क्षत्रीय बनाएको थियो र ब्राह्मण बनाएको थियो । मैले सुनेको नेपालले मेरा पुर्खालाई महिला बनाएको थियो, पुरुष बनाएको थियो अनि स्वामी र दास बनाएको थियो । ठूलो र सानो, उँच र नीच, छुत र अछुत बनाएको थियो । तर मैले सुनेको नेपालले कहिल्यै मानिस बनाएको थिएन । मानिस जन्माएको थिएन ।

जब पहिलोपटक उसको बिक्षिप्त आवाज बिद्रोहले भरिएर बिस्फोट भयो तब उसले आफूभित्रको मानिस भेट्टायो र तमाम मानव मुखुण्डालाई पनि मानिस खोज्न उक्सायो । उसले भन्यो तिमी दास होइनौ, उसले भन्यो तिमी दलित होइनौ, तिमी जनजाती, क्षत्रीय या ब्राह्मण केही होइनौ । तिमी मात्रै मानिस हौ र तिमीभित्र पनि आवाज छ । तिमीभित्र पनि आत्मा छ । तिमीले पनि बोल्न पाउँछौ, तिमीले पनि अरुको बराबरीमा उभिन पाउँछौ, तिमीले पनि स्वतन्त्र र सम्मानको जीवन बाँच्न पाउँछौ । तिम्रा पनि अधिकार छन् र तिमी पनि प्रकृतिको उपज हौ र यही धर्तीको गहना हौ । तब उसले पहिलोपटक म र मजस्ता लाखौं निरीह बोलीबिहीन जीवलाई मानवताको धरातलमा उभ्यायो ।

मैले कहिल्यै नचिनेको र नभेटेको अनि अपेक्षा नगरेको मभित्रको मानिससँग उसले पहिलोपटक मेरो भेट गरायो । मलाई यो राज्यको दास, जनावर नभएर मानिसको ओहोदामा उकास्यो र मानिसको अधिकारद्वारा सुसज्जित गरायो । उसले मलाई सबै किसिमका अधिकारहरु दिलायो । उसले मलाई बन्दुकको विरुद्धमा आवाज उठाउने अधिकार दियो, अमानवताको बिरोध गर्ने अधिकार दियो, सत्ताको बिरोध गर्ने अधिकार दियो । मलाई मन नपरेका, मेरो वर्ग समुदाय र मेरो मानवताको प्रतिकुल रहेका कुनैपनि बिचार, व्यवहार र व्यवस्थाको बिरोध गर्ने अधिकार दिलायो । यहाँसम्म कि मलाई उसैको बिरोध गर्ने अधिकार समेत दियो । त्यसैले त मैले आज लेख्न पाएको छु र बोल्न पाएको छु ।

उसले पहिलोपटक आफूभित्रको मनुष्यताको महसुस गर्‍यो र उ मानिस भयो तर म उही संकुचित दायराभित्रको निरीह जीव थिएँ । अनि उसले मलाई मानिस बनाउने यात्रा र अभ्यास जारी राख्यो । अनि म आज मानव भएँ र उ महा-मानव भयो । यो सत्य होकि मेरो समाज, सभ्यता र राज्यले उसलाई एक नृशंस हत्यारा र सैतानको ओहोदाभन्दा माथि राखेर हेर्न सक्दैन तर यथार्थमा उ म र मजस्ता लाखौं निरीह जीवको महा-मानव हो । उ गरीबको, दलितको, महिलाको, आदिवासी जनजाति र पिछडा वर्गको महा-मानव हो जसले हामीभित्रको मानव खोज्यो र जगायो । त्यहीसँगै मेरो कलम पनि जन्मियो । उसको बिचारको शुक्रकिटबाट जीवत्व पाएर उसको मस्तिष्कमा जीवन लिएको मेरो कलम उसको बन्दुकको नालबाट नै स्वतन्त्र अस्तित्वमा आयो र मौलिक बोली बोल्न सक्षम भयो । त्यसैले आज मेरो हातमा एक कलम छ र मजस्ता हजारौं मानिसहरु कलमजीवी बनेका छन् । आज म र मजस्ता सयौं हजारौं मानिसले आफ्ना बिचारहरु उन्मुक्त रुपमा पोख्न सक्छौँ कलमको माध्यमबाट र लेख्छौँ त्यही बन्दुकको विरुद्ध र त्यही महा-मानवका विरुद्ध । जसले धर्मको निम्ति अधर्म गर्‍यो अधर्मका विरुद्ध र जसले मानवताको रक्षाको निम्ति हिंसा गर्‍यो हिंसाको विरुद्ध । हो आज क्रान्ति र मानवताको आवाज बोल्ने, परिवर्तनको निम्ति आवाज उठाउने, अधिकारको निम्ति लड्ने, नवीन सुन्दर सभ्यताको मानचित्र कोर्ने र त्यही महा-मानवको बिरोधमा समेत कुर्लने मेरो कलम पनि उसैको बन्दुकबाट जन्मिएको हो । जसले आज बन्दुक उठाउनुको बिरोध गर्छ र हिंसाको बिरोध गर्छ । अनि जो बन्दुकभन्दा निकै शक्तिशाली र सक्रिय छ ।