सिमसारको पुनर्स्थापना र आजको आवश्यकता

२७ औँ विश्व सिमसार दिवस २०२३

आज सन् २ फेब्रुअरी २०२३, २७औँ विश्व सिमसार दिवस। सन् १९९७ देखी हरेक वर्ष फेब्रुअरी २ मा विभन्न नारा सहित यो दिवस मनाउदै आइरहीएको छ। सन् २ फेब्रुअरी १९९७ मा नेपाल, भारत, चिन, क्यानडा, जापान, थाइल्याण्ड, यु.एस., अस्ट्रेलिया, बगंलादेश र भेनेजुला लगाएतका २२ राष्ट्रले पहिलो पटक विश्व सिमसार दिवस मनाएका थिए।

सन् २ फेब्रुअरी १९९८ मा “पानिका लागी सिमसार, सिमसारका लागी पानि” नारा सहित दोस्रो विश्व सिमसार दिवस मनाइएको थियो। दोस्रो विश्व सिमसार दिवस मनार्इरहँदा पानिको संकट तर्फ विश्व समाजको ध्यानाकर्षण भएको थियो।त्यस्तै सन् २ फेब्रुअरी २०१० मा १४औँ विश्व सिमसार दिवस “सिमसारको हेरचाह- जलयवायु परिवर्तनको आधार” भन्ने नारा सहित विश्वभर मनार्इएको थियो।गत वर्ष पनि आजकै दिन “मानिस र प्रकृतिका लागी सिमसार” भन्ने मुल नाराका साथ विश्व सिमसार दिवस मनाइएको थियो। आजको दिनलाइ, ७ फेब्रुअरी ९१७१मा इरानको रामसार सहरमा अन्तर्राष्ट्रिय महत्वको सिमसारमा भएको महासन्धि (रामसार कन्भेन्सन) मा हस्ताक्षर भएको वार्षिकोत्सव को रुपमा मनाइन्छ।

हाम्रै वरपर रहेका विभिन्न दृष्यहरुमध्ये ओसिलो, थलथले, दलदले, धापिलो, पानि जमिरहने वा कहिल्यै पानि नसुक्ने जमिनको क्षेत्रलार्इ सामान्य वोलिचालीको भाषामा सिमसार भनिन्छ।रामसार महासन्धिले ४१ प्रकारका सिमसार क्षेत्र परिभाषित गरेको छ। हाम्रो देश नेपालमा कुण्डा, ताल, धाप, जलासय, धानखेत र नदी गरी ६ प्रकारका सिमसार छन।विश्वको कुल क्षेत्रफलको करीव ९ प्रतिशत जमिन सिमसारले ओगटेको छ भने नेपालमा मात्र कुल क्षेत्रफलको करिव ५.५ प्रतिशत (८१९२७७ हे.) क्षेत्रफल सिमसारले ओगटेको छ।जस मध्ये १० वटा सिमसार क्षेत्र (क्षेत्रफल ६०५६१ हेक्टर) रामसार सुचिमा सुचिकृत भर्इसकेका छन। कोशी टप्पु क्षेत्र (सुनसरी) सन् १९८७, बीस हजारी ताल (चितवन), घोडाघोडी ताल (कैलाली), जगदिशपुर ताल (कपिलवस्तु) गरि तिनवटा तालहरु सन् २०03, रारा ताल (रारा रा. नि., मुगु), शे-फोक्सुण्डो ताल (डोल्पा), गोक्यो र वरिपरीको ताल (सोलु), गोसाइँकुण्ड र वरिपरीका ताल(रसुवा) गरी चारवटा तालहरु सन् २००७, माइपोखरी (इलाम) सन् २००८ र पोखरा उपत्यकाका ९ वटा तालहरू-सन २ फेब्रुअरी २०१६ गरी जम्मा १० वटा सिमसार क्षेत्रहरु हाल रामसार सुचिमा सुचिकृत छन। नेपालमा तराइ देखी हिमालसम्म बिभिन्न अन्तराष्ट्रिय महत्व बोकेका धेरै सिमसार क्षेत्रहरु रहेका छन।मावन जिवन र जगतका लागि सिमसारको महत्त्वपूर्ण भूमिकाको बारेमा विश्वव्यापी चेतना जगाउँदै विश्वमा सिमसार क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यका साथ यो दिवस मनाइदै आइराखिएको हो।

सन् १७०० को दशकदेखि आजका मिति सम्म संसारको लगभग ९०% सिमसार क्षेत्रहरू घटिसकेको र हामी जङ्गलहरू भन्दा तीन गुणा छिटो सिमसार क्षेत्रहरू गुमाउँदैछौं भन्ने कुरा केही अध्ययनहरुले देखाउँछन। विगत ५० वर्षमा विश्वका ३५% सिमसार क्षेत्रहरु मासिएका छन। नेपालको मात्र कुरा गर्नुपर्दा, सन् २००९ मा गरिएको हवाइ नक्सा अध्ययनले नेपालमा करीव ५३५८ सिमसार तालहरु रहेको देखिन्छ। यी मध्ये ३००० मिटर भन्दा कम उचाइमा र एक हेक्टरभन्दा ठुला क्षेत्रफल भएका ३१३१ वटा सिमसार तालहरु रहेको देखिन्छ। उक्त हवाइ नक्सा अध्ययनमा लुम्बिनी प्रदेशमा मात्र सबैभन्दा बढी कपिलवस्तुमा ३५१ ताल, रुपन्देहीमा २६९, बाँकेमा २४३, नवलपरासीमा १६३ सिमसार तालहरु देखिएका थिए। सन् २०१६ को स्थलगत अध्ययन अनुसार यी संख्या घटेर कपिलवस्तुमा 48 ताल, रुपन्देहीमा 29, बाँकेमा 6, नवलपरासीमा (लुम्बिनी र गण्डकी प्रदेशमा पर्ने) 23 सिमसार मात्र स्थापित रहेको तथ्याङ्कले देखाउँछ। अहिले मानिसहरुले आफ्नो व्यवसायिक तथा दैनिक क्रियाकलापहरुबाट उत्पादन भएका ठोस फोहोरमैलाहरु नदी, नाला, खोला, पोखरी, तालतलैया लगायतका स्थानहरुमा लिएर विर्सजन गर्ने बानीले सिमसार क्षेत्रहरु वातावरणीय प्रदूषणको चरम चपेटामा परेका छन।

हामीले सिमसार क्षेत्रहरूको तिब्र क्षतिलाई उल्टाउँदै सो क्षेत्रको संरक्षण र पुनर्स्थापना गर्ने कार्यहरूलाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अर्न्तराष्ट्रीय स्तरमा चेतना जगाउनु जरुरी छ। दिगो मानव अभ्यासहरूबाट निरन्तर खतरामा रहेका सिमसारमा पाइने प्रजातिहरू तथा इकोसिस्टमहरू, सिमसार पारिस्थितिकिय प्रणालीमा जलवायु परिवर्तनको सम्भावित प्रभावका साथै जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सिमसारको भूमिकाबारे विश्वव्यापीरुपमा चर्चा भइरहने गर्दछ।अव रहरेका जिर्ण सिमसार क्षेत्रहरुको स्तरउन्नती गरी पुनर्जीवित र पुनर्स्थापना गर्नसके मात्र यस वर्षको २७औँ विश्व सिमसार दिवसको नारा “आजको आवश्यकता – सिमसारको पुनर्स्थापना” ले सार्थकता पाउनेछ।