कर्णाली सरकारले पायो पूर्णता : नवनियुक्त ४ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिएका हुन् । कर्णाली प्रदेशसभा सचिवालयका अनुसार ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।