बाजुरामा भूकम्पको धक्का : एकको मृत्यु, दर्जनौं घरमा क्षति
बाजुरा, बाजुराको मेला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ । भूकम्पका कारण ढुङ्गा लागेर अन्दाजी ३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै भुकुम्पका कारण बाजुरा र बझाङमा दर्जनौ घरमा क्षति पुगेको छ । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका कारण दुई घर भत्केका छन् ।
भूकम्पका कारण ढुङ्गा लागेर ३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए । सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीय दिपेन्द्र रोकायाले बताए ।
यस्तै बझाङमा पनि घरहरु चर्केका छन् । बझाङको सदरमुकाम चैनपुरमा रहेको अस्पताल, सशस्त्र प्रहरीको गुल्मको भवन समेत चर्केको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक अशोक सिङले बाजुरा र बझाङ्गमा केही घर भत्केको र केही घर चर्केको बताएका छ्न् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सुदूरपश्चीम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । धनगढीमा समेत भूकम्पले हल्लाएपछि स्थानीय डरले घर, पसल र कार्यालय बाट बाहिर निस्केका थिए । भारतको राजधानी दिल्लीमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
विज्ञहरुले सुदूरपश्चिममा भूकम्पको उच्च जोखिम रहेको बताउँदै आएका छन् । गत कार्तिक २२ गते राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६।६ म्याग्निट्यूडको भूकम्प जाँदा डोटी पुर्बीचौकी गाउँपालिकामा ६ जनाको ज्यान गएको थियो ।