जनयुद्धले दिएको तीतो सौगात र जिर्ण जीवन

‘तीन महिनाको आयुमै आमाको काखबाट अलग्ग्याइयो !’

यो वाक्य केही दिन अघि मात्रै सुनेको थिएँ । अनि यो वाक्य मेरो हृदयमा यसरी बस्यो, मानौं कि चट्टानमा लागेको चोट बस्यो । त्यो दिनदेखि मलाई जिज्ञासा बसिरह्यो । कौतुहलता, खुलदुली लागिरह्यो । वाक्यांशको ‘तीन महिना’ले मलाई तानिरह्यो । म निदाउन ओछ्यानमा जाँदा पनि मेरो मानसपटलमा घुमिरह्यो ‘तीन महिना’ । म बाख्रा चराउन गोठालो गएँ, त्यहाँ पनि मलाई ‘तीन महिना’ले पछ्याउन छोडेन । म साथीहरूसँग घुम्न गएँ त्यहाँ पनि पछ्याइरह्यो । म परिवारसँग गफिएँ, त्यहाँपनि ‘तीन महिना’ले छोडेन । मलाई पछ्याइरह्यो, समाइरह्यो । मेरो कानमा गुञ्जिरह्यो । जसको कारण म यसको पूरा रहस्य नजानेसम्म रहन नसक्ने भएँ अनि थोरै हिम्मत जुटाएर सोध्ने अवसर पर्खिरहेँ र अवसर सिर्जना पनि गरेँ ।

छोरी पात्र : लक्ष्मी रोकाय

कसैको इतिहासमाथि प्रश्न गर्न पनि ठूलै हिम्मत चाहिन्छ । ठूलै हैसियत चाहिन्छ । किनकि इतिहास कपोकल्पित हुँदैन, त्यो मानिसको जीवनको महत्वपूर्ण कालखण्ड हुन्छ । मानिसको आयुको महत्वपूर्ण हिस्सा हुन्छ । त्यो इतिहासमा व्यक्तिको समग्र यथार्थता मुछिएको हुन्छ । तब मलाई पनि हिम्मतको खाँचो थियो, एक हैसियतको खाँचो थियो । किनकि कसैको पुरानो घाउ कोट्याएर बल्जाउनु सानोतिनो कुरा होइन । कसैको अतीतमाथि छेडखानी गर्नु कुनै सामान्य कुरा होइन । तर मलाई एक लेखक हुनुको नाताले हैसियत मिल्यो र एक मित्रताको कडिले हिम्मत मिल्यो । तब प्रश्न गरेँ । ‘तीन महिना’को जगमा उभिएर गरेको सवालले दसौं बर्ष, सत्रौँ बर्षको इतिहासको वकालत गर्‍यो । आज त्यही इतिहास यहाँ पेश गरेको छु ।

आजसम्म मैले थुप्रै कथा लेखेँ । भोकका कथा लेखेँ, शोकका कथा लेखेँ । सुखका कथा लेखेँ, दु:खका कथा पनि लेखेँ । प्रतिशोधका कथा लेखेँ र प्रेमका कथा पनि लेखेँ । जानका कथा लेखेँ र अन्जानका पनि लेखेँ । तर लामै समय कथाको मार्गबाट विश्राम लिएका मेरा औंलाहरु आज फेरि त्यो ‘तीन महिना’को वाक्यांशले पुनः कसैको अतीतलाई शब्दका मालामा भावका रंगहरु भरेर श्वेत पृष्ठभुमिमा एक कथाको आकार दिन तल्लीन छन् ।

म चयनले बाँच्न सकेको थिइनँ ‘तीन महिना’ले । म पटकपटक आफ्नो अतीतलाई फर्केर पढ्न थालें र मैले कतै पाइनँ तीन महिनाको वियोग । मैले कतै पाइनँ, आमाको मातृत्वको सागर अटेको काखबाट म अलग्गिएको पल । अहँ मैले आफ्नो अतीतमा त्यो कतै पाइनँ । त्यसैले मलाई औधी बिझायो उनको ‘तीन महिना’ले । अत: मैले मस्तिष्कको पद्धतिमा सवालका सृङ्खलाहरु छपाएर राखें ताकि अवसर मिल्नासाथ अविरल पोख्न सकियोस् ।

उनी मेरी मित्र हुन् । परम प्रिय छिन् । म प्रेमी हुँ । ‘प्रेमी’ अर्थात् उनको प्रेमी होइन । म मानिस नै प्रेमी हुँ । म प्रेमी भएको कारण उनी मलाई प्रिय लागेकी होइनन् । बरु उनी वास्तवमा आफैमा प्रिय छिन् । नहोउन् पनि कसरी ? जबकि उनले जिन्दगी आफैले भोगेकी जो छिन् । आफ्नै आँखाले देखेकी छिन् अनि आफैले पढेकी छिन् । उनी आफ्नो अतीत आफैले आमने-सामने भएर जिएर आइन्, त्यसैले त आज आफ्नो भविष्य आफ्नै औंलाले कोर्न तयार छिन् । मैले उठान् गरेका प्रश्नमाथि उनी बोलिन् । उनले यो कथा बोलिन् ।

अँ ! यो कथा एक लेखकको सिर्जनात्मकताको उपज होइन । उनको इतिहास हो, अतीत हो । उनकै मुखारवृन्दबाट उद्भावित सत्य हो । यो कथाले उनको अतीत बोलेको छ, उनको यथार्थता बोलेको छ । जनयुद्धको परिणाम बोलेको छ अनि उनको जिन्दगी बोलेको छ । प्रस्तुत छ उनको कथा, उनकै अनुसार ।

जन्मिनुपूर्व :-

मेरो परिवार उक्त समाजको समकक्षी हो । अति गरीब होइन नत अति सम्पन्न नै हो । तर भन्न मिल्छ, मेरो परिवार सम्पन्न जस्तै हो । हुँदा खानेहरुको अपेक्षामा हुनेखाने नै हो । बुवाको सानै उमेरमा विवाह भएछ, आमासँग । मागी विवाह भएको रे । तर विवाहको केही महिना पश्चात् बुवा नेपालगन्ज कि कहाँ जानुभएछ । ठूलोबुवा जागिरे भएकोले होला, भाइको पठनपाठनको लागि भन्दै बुवालाई पनि साथमै लिएर जानुभएछ । यसकारण बुबा-आमाको नवोदित दाम्पत्य यात्रा एकसाथ चल्न सकेन । नवारम्भित साझा जीवनयात्रा आवश्यक धारामा प्रवाहित हुन सकेन । छुट्टिनुपर्‍यो । तर त्यो वियोग सँधैको लागि भने थिएन । ऋतु परिवर्तन भएजस्तै अवस्था, कालखण्ड र भोगाइ मात्रै परिवर्तन भएका थिए । दिनमा छुट्टिएका पंक्षीका जोडी साँझमा भेटिएजस्तै भेटिनु थियो र भेटिनुभयो उहाँहरु पनि ।

केही समयको प्रवास पश्चात् बुवा गाउँ फर्किनुभयो । तर शहरमा बसेर पढेर आएको युवा जो हुनुहुन्थ्यो, साहेद गाउँको वातावरण अनुकूल हुन सकेन । पढाई गर्ने इच्छा बुवाको भएतापनि, उहाँको इच्छालाई पुर्णतः मुर्तरुप दिनको निम्ति वातावरण, अवस्था अनुकूल थिएन । कर्मजीवी समाजको आफ्नै व्यवस्था छ ‘अहोरात्र कर्म गरेर मात्रै बाँच’ । गाउँ कर्मजीवी हो । बरु शहरमा कुल जनसंख्याको आधाले कर्म नगरेर पनि बाँच्छन् । तर त्यो पनि टाठाबाठाको हकमा हो । गाउँमा कसैलाई त्यस्तो छुट छैन । त्यसैले बुवालाई पनि गाउँको विवसताले जकड्यो नै । जसको फलस्वरूप उहाँको पढाईले निरन्तरता पाएन ।

गाउँको विवस वातावरणले उहाँको स्वतन्त्र जीवनको पंखा खसाल्यो, त्यतिसम्म सही नै थियो तर अर्को समस्या पारिवारिक विखण्डनले पार्‍यो । विवाह पश्चात् भाइ-भाइ अलग्गिने संस्कृतिले पार्‍यो । विवाह अघि जति नै अखण्ड होउन् भाइका मनहरु, तर विवाह पश्चात् खण्ड-खण्डमा बिभक्त हुन्छन् नै । जसको कारण एक स्वर्ण संरचनामा उभिएको परिवार पनि खण्ड-खण्डमा बिभक्त हुन्छ नै । त्यस्तै उहाँहरुको पनि भयो । दुबैजना अपरिपक्व नै भन्न मिल्ने हुनुहुन्थ्यो साहेद, बुवा-आमा । तर परिवारले परिपक्व मानेको नै थियो । समाजले परिपक्व मानेको नै थियो अनि परिस्थितिले पनि अपरिपक्वता भित्रको मौन परिपक्वतालाई पुकारेरै छोड्यो । तब उहाँहरु अलग्गिनुभयो । अर्थात् अंशबण्डा गरेर छुट्टिनुभयो । अझ भन्न मिल्छ, उहाँहरुलाई छुट्ट्याइयो ।

दुई अपरिपक्व काँचा मनहरु, काँचा जिन्दगीहरुलाई सिंगो परिवारको परिधिबाट पर धकेलियो । अंशबण्डामा पनि खासै न्याय गरिएन रे । पैत्रिक सम्पत्तिमा चल सम्पत्तिको भागमा न्याय गरिएन रे । भाँडाकुँडामा अधिक ठूलोबुवाकै स्वामित्व जोडिएछ । किनकि उहाँ जागीरमा हुनुहुन्थ्यो र त्यो सबै उहाँले जोडेको भन्ने अर्थ लगाइएछ । त्यसमाथि मेरो आमाले दाइजोमा नल्याएको भन्दै उहाँको दम्पतीलाई त्यो सबैबाट बञ्चित गराइएछ । उमेरले साना, अनुभवले साना अनि संख्यामा पनि साना भएका मेरा बुवा-आमालाई अंशमा पनि सानै दिएछन् भन्ने सुनाए । त्यो सुनेपछि निकै मर्माहत हुन्छ यो हृदय ।

जेहोस् सिंगो पारिवारिक संसारबाट पर सारिएका, समग्रताबाट अलग पारिएका दम्पति अब बिलकुल पृथक परिस्थितिमा थिए । एकातिर बिखण्डित परिवारको चरम दु:खद अनुभुती र अभावग्रस्त जीवन अनि अर्कोतिर देशमा माओवादी सशस्त्र जनयुद्धले मच्चाइरहेको धमाका, यी दुबै कुराले दम्पतिलाई थप आक्रान्त बनाइरहेको थियो । क्रान्ति उर्लिरहेको थियो । देशको अवस्था बम-बारुदको ताण्डवतर्फ धकेलिएको थियो भने पारिवारिक अवस्था पनि चिस्यानमा रुपान्तरित थियो । भन्न सकिन्छ, देशको अवस्था र पारिवारिक अवस्था दुबैले मेरा बुवा-आमालाई अलग्याउन चाहेको हो । अन्तत: बुवा हिड्नुभयो ।

किन, कसरी, केका लागि बुवा सशस्त्र युद्धमा होमिनुभयो त्यो म जान्दिनँ, तर सुनाइ र बुझाइ अनुसार यति भन्न सकिन्छ कि पारिवारिक अवस्था प्रतिको बितृष्णा पहिलो कारण थियो । हिड्नु भन्दा पहिला आमालाई भन्नुभएछ ‘माओवादी युद्धबाट म फर्कन्नँ साहेद त्यसैले मेरो बाटो नकुर्नु बरु आफ्नो सुरसार गर्नु ।’ मनसाय यो बुझ्न सकिन्छ कि बुवाले फेरि फर्कने आशा इच्छा दुबै नराखेर निस्कनुभएछ । दुबैजनालाई थाहा थिएन, अब के हुनेवाला छ । अबको भविष्य के छ र अबको जिन्दगी के हुनेछ । उहाँहरुलाई यो पनि थाहा थिएन कि त्यो साँघुरो संसारभित्र थपिन अर्को एक जिन्दगी पनि आउँदैछ । थाहा थिएन आमाको गर्भमा एक कलिलो भ्रुणले जीवनको स्वरुप लिदैछ । आमाले आज भन्नुहुन्छ, बुवाले घर छोड्दा साहेद म दुई महिनाको थिएँ उहाँको पेटमा । बुवा हिड्नुभयो । किनकि दुबैजना अन्जान, अनभिज्ञ जो थिए भविष्य प्रती । बुवा जीवनको माथामा कालो टीका पहिरिएर २०५३/०५४ को संघारमा घर छोडेर मृत्युुको सम्भावनालाई आलिङ्गन गर्न जानुभयो ।

जब म जन्में :-

थाहा छैन बुवाले घर छोड्नुभए पश्चात् मेरी आमाको हाल के थियो । उहाँले कसरी बिताउनुभयो ती कहालीलाग्दा चकमन्न काला रातहरु । कसरी बिते ती निरस र एक्ला दिनहरू । जीवनभर साथ दिने भनिएका जीवनसाथीले त छोडेर गइसकेका थिए एक अनिश्चित यात्रामा । एक अनिश्चित परिणामको अनिश्चित युद्धमा । उनी जित्न गएका थिएनन् । उनीले भविष्य लिएर गएका थिएनन् । बरु उनी जीवनको अनन्त विश्रामको सम्भावना देखेर गएका थिए । उनलाई आशा थिएन जितेर फर्किने न इच्छा जस्तो नै थियो । बस् उनी आफैलाई नियतिको चरणमा समर्पण गरेर परिवर्तनको लडाइँ लड्न गएका थिए । बाँकी के थियो त्यो नियतिको जिम्मा थियो ।

म बुवा गएको सात महिनापछि जन्मिएँ । मेरो जन्मघर नै मामाघर बन्यो । मामाघरको माटोमा मेरो पहिलो चीत्कार मिसिएको छ । त्यही माटोमा मेरो नाभी गाडिएको छ । त्यही माटोमा मसँगको सालनाल गाडिएको छ । त्यही माटोमा मेरी आमाको पहिलो सन्तानको जन्मसँग पोखिएको रगतको कणकण मिसिएको छ । अनि त्यही माटोमा मेरो आँसु, पसिना, आस्था, प्रेम सबथोक मिसिएको छ । तब पो मलाई मामाघरको त्यो माटो औधी प्रिय लाग्छ । मानौं त्यो नै मेरो मातृत्वले सिंचिएको भुमी हो । त्यो नै मेरो पितृत्वको आभास पोखिएको भुमी हो र त्यही मेरो संसार हो ।

उता बुवाको कुनै अत्तोपत्तो छैन । मर्ने सम्भावना सहित बोकेर हिडेको मान्छे ज्युदो छ भन्ने आशा पनि थिएन कोहीलाई । यता घरकालाई उहाँको बारेमा जानकारी थिएन अनि उता उहाँलाई पनि जानकारी थिएन उहाँको बंशमा उहाँकै रगतले एक अस्तित्व पाएको कुरा । जेहोस् म जन्मिएछु र अस्तित्व पाएछु । त्यो आँगनमा एक नयाँ जीवन उम्रीएछ । त्यो अँध्यारो कुनामा एक सुकुमोल मुना पलाएछ । त्यो भुमिमा पोखिएको मेरी आमाको रगतले एक सुन्दर जीवनलाई उब्जाएको थियो । तर उता रणभुमिमा पोखिएको मेरो बुवा र बुवा जस्तै हजारौंको रगतले के जन्माउनेवाला थियो त्यो कसैलाई थाहा थिएन । मेरी आमाको चीत्कार पश्चात् म जन्मेँ तर हजारौं मानिसको चीत्कार पश्चात् के जन्मियो त्यसको साक्षी अहिलेको युग छ ।

आमाको गर्भबाट शिशुको जन्म भएपश्चातको अवस्थामा पनि कुनै सुधार आउनेवाला थिएन बरु बिगार नै हुनेवाला थियो । किनकि देशले रक्तपातपूर्ण जनयुद्धको बाटो गुज्रनु परेको थियो र त्यही बाटोको एक सिपाही मेरो बुवा पनि हुनुहुन्थ्यो । ती दिनहरुमा आमालाई कमता सास्ती भएन, आज सुनाउनुहुन्छ । दिनभर घरमा काम गरेर रातिको समय जंगलमा बस्न जानुहुन्थ्यो रे मेरी आमा । काखमा सुकुमोल शिशु छोरीलाई च्यापेर जंगल, ओडार र छहारीमा रात बिताउनुपर्ने अवस्था एक निरीह नारीको लागि कति सास्ती हो त्यो हर कोही मानिसले सजिलै बुझ्न सक्ने कुरा हो । बाध्यता थियो । श्रीमान माओवादीमा हिडेको अनि माओवादीको वर्चस्व पनि काफी भएको अवस्थामा डरको के सीमा हुनु । त्यसैमाथि गाउँमा त्रासपूर्ण अभिव्यक्ति उगेल्नेहरुको पनि के कमी थियो र । भन्थे रे, माओवादी आएर अपहरण गरेर लिन्छन् । अभियानमा लगाउँछन्, युद्धमा पठाउँछन्, मार्छन् । यस्तै केके केके ।

नाबालक शिशु लिएर रातिराति जंगलको बास गर्नु पक्कै सजिलो थिएन । तर एकातिर आफ्नो ज्यानको माया अनि अर्कोतिर अबोध शिशुको भविष्यको पीर । ती काला चिसा रातहरुमा जंगलमा लुकेर एक्लि आमा बस्दा उनको काखको अबोध शिशु रोएको अवस्थामा उनी झन् थिचेर काखमा च्याप्थिन् । ताकि शिशुको आवाज कसैले सुन्न नपाओस् । यदि कसैले थाहा पाएमा कुरो बिग्रने छ । जताबाट जसले पनि गोली चलाउन सक्थ्यो । जसले पनि खुँडा खुकुरी चलाउन सक्थ्यो । फेरि मुलुकभर युद्धको चरम गर्मी छाएको बेला जोकोहीको पनि हिंस्रकता जाग्न सक्थ्यो । जसले जस्तो कदम पनि लिन सक्थ्यो । तर नियतिको खोज नै रहेछ क्यार । सुरक्षीत रहनुभयो आमा अनि अहिलेसम्म जीवित छु म पनि ।

त्यो भागदौडको अवस्थाको असुरक्षा, बुवाको माओवादी जनयुद्धको आत्मसात यी सबैले गर्दा मैले पनि आमाको काखबाट छुट्टिनुपरेछ । मावलको बज्यैले भन्नुभएछ ‘ज्वाइँ त माओवादी भइसके, फर्किन्छन् फर्किदैनन्, अनि तेरो पनि यही भागदौडले के पो हुने हो । बरु नातिनीलाई म आफै पाल्छु ।’ बज्यैको यो भाव निकै सुन्दर र ममतापूर्ण थियो । त्यसैले मलाई तीन महिनाकै आयुमा आमाबाट छुट्ट्याएर आफूसँग लिएर जानुभयो । तीन महिनाको आयुको कोमल शिशु, आमाको काखको न्यानोमा लुटपुटिएर आमाकै छातीको अमृत चुसेर हुर्किनुपर्ने बेलाको शिशु, अब त्यही आमाको काख परित्याग गरेर कहिँ टाढा पुग्नु परेको थियो । त्यहाँ आमाको काख थिएन, नत आमाको ममतामयी स्पर्शसँगै पग्लिने जीवनमयी, अमृतमयी छाती नै थियो । त्यहाँ आमाको काख त थिएन तर आमाको काखको विकल्पमा बज्यैको काख थियो । आमाको छाती त थिएन तर आमाको छातीको विकल्पमा भैंसीको थुनको धारा थियो । बस् यिनै दुई थोकको भरमा मेरो जिन्दगीको आधारशीला बसेको हो । बज्यैको त्यो घरमा, म अटाएको तर मेरी आमा नअटाएको त्यो घरमा आमाको उपस्थिति थिएन तर आमाको सुगन्धको अवशेष थियो । त्यही सुगन्धसँगै हुर्कियो यो जीवन ।

बुवासँगको पहिलो साक्षात्कार :-

बुवाले घर छोडेको सात महिनापछि छोरी जन्मिइ र तीन महिनापछि आमाको काख छोडेर टाढा गैसकी । त्यसपछिका मेरी आमाका दिन रात कसरी बिते त्यो केवल दुई व्यक्ति जान्दछन् । एक मेरी आमा अनि अर्को ईश्वर । छिमेकीले देखे होलान् तर केवल सतही रुपमा । घर देखे होलान् र मेरी आमाको एक्लो जीवन देखे होलान् । तर न मन देखे, न पन नै । त्यसैले जानकार आमा र ईश्वर बाहेक अर्को कोही छैन । जीवनसाथी कुन्नि कुन दुनियाँमा कुन परिस्थितिसँग लडिरहेका छन् । जिउँदै छन् या बिदा भैसके केही थाहा छैन । सुनाउनेहरुले, लख काट्नेहरुले पनि भन्छन्, साहेद मर्‍यो होला । फर्केर आउँदैन होला । एक छोरी जो थिइ उ पनि साथमा रहिन । आमाको ममता त्यही बस्तीको मुन्तिर भएर बग्ने नदीसँगै बग्यो होला । उहाँको स्पर्श त्यही पैंक गाउँको माटोले पायो होला । उहाँको चुम्बन केवल उहाँका स्मृतिले पाए होलान् । उहाँको आँचलले त्यही पैंकको गाउँ बस्तीका झारपात सोहोर्‍यो होला । सन्तानको आँत भर्न निचोरिएको उहाँको रसान त्यही माटोमा मिसियो होला । उहाँको प्रेमपूर्ण आँसुहरुले भरिएका गहहरुको प्रेमिल दृष्टि त्यही घर पछाडिको कुशे हिमालले पायो होला । सबैथोक बगाएर उहाँ एक्लै रहनुभयो । त्यही क्रम जारी रह्यो, दिउँसो गाउँ र राति जंगल…. ।

मामाघरलाई आमाघर बनाएर बसेको जिन्दगी त्यहीको धुलोमाटो र हावापानीको मिष्ठान्न र बज्यैको प्रेमको प्रशादले हुर्किदै गइरहेको थियो । आमा र बुवा दुबैको पुर्ती त्यही भुमिले गर्‍यो । त्यही हावापानीले गर्‍यो अनि बृद्ध बज्यैको सुक्नै आँटेको ममताले गर्‍यो । तर जेहोस् एक मुना फक्रीदै थियो । एक कोपिला मुस्कुराउँदै थियो । एक नयाँ किरण फैलिदै थियो । एक जिन्दगी बिस्तारित हुँदै थियो । बज्यैको काखमा खेल्दै मेरो दुई बर्ष बितेछ र दिउँसो घरको काम अनि राति जंगलको बास गर्दै आमाको पनि दुई बर्ष बितेछ । त्यो दुई बर्ष बुवाको कसरी बित्यो त्यसको साक्षी त्यही जनयुद्ध होला अनि बुवा स्वयं आफै हुनुहोला । बाँकी हामी अन्जान छौँ ।

बुवा सम्राट र आमा सरिता

बुवालाई थाहा थिएन कि उहाँको सन्तान पनि दुई बर्षको भइसकी । आमालाई थाहा थिएन कि बुवा जीवित हुनुहुन्छ । अनि मलाई थाहा थिएन कि बुवा भन्ने पनि केही चीज हुन्छ । बुवा जनयुद्धमै लागिरहनुभयो, क्रान्तिमै होमिइरहनुभयो । उहाँलाई साहेद परिवारको पर्वाह थिएन होला । अर्थात् भन्न सकिन्छ, उहाँलाई परिवार छ भन्ने ज्ञात पनि थिएन होला । तर एकदिन बुवाको एकजना कमरेडले, जो हाम्रो गाउँकै हुनुहुन्थ्यो उहाँले बुवालाई भन्नुभएछ ‘घरमा तपाईंको छोरी जन्मेको छ ।’ साहेद त्यतिबेला मात्रै बुवालाई याद भयो होला उहाँको जीवनसँगिनी पनि थिइ । त्यतिबेलासम्म थाहा थिएन, छोरी छे । याद थिएन श्रीमती थिइन् । तर कमरेडले जे गर्नुभयो पुण्यकै काम गर्नुभयो । यदि उहाँले त्यतिसम्म पनि नगरेको भए साहेद एक पतिको जिन्दगी, एक बुवाको जिन्दगी त्यस्तै जनयुद्धको भुङ्ग्रोमा गुमनाम हुन्थ्यो होला । जब खबर पाउनुभयो तब उहाँ केही प्रक्रिया मिलाएर घर आउनुभयो । जीवनसँगिनीलाई फेरि एक प्रेमिल नजरले हेर्न । अन्जान छोरीको अनुहारमा एक नजर हेर्न अनि अंगालेर प्रेम पोख्न । भन्नुहुन्छ म दुई बर्षको हुँदा बुवा आउनुभएको रे तर म अबोधलाई के थाहा । बुवा आउनुभयो भन्ने छैन तर आउनुभयो रे सम्म मात्रै सीमित छ ।

त्यसपछि :-

देशको अवस्था उस्तै रह्यो । क्रान्ति उस्तै रह्यो अनि हामी पनि उस्तै तितरबितर । देश रक्तपातामा डुब्दै थियो । क्रान्ति आफ्नो गन्तव्य हासिल गर्दै थियो अनि हामी भने केवल अतीतमा बाँचेका थियौं । किनकि हामीसँग कुनै भविष्यको किरण थिएन । बुवा फेरि त्यही सशस्त्र युद्धमा लागिरहनुभयो । थाहा छैन कुन उदेश्यले लागिरहनुभयो । तर यतिमात्र थाहा छ, उहाँले क्रान्ति छोड्नुभएन । आमाले बुवालाई चिन्नुहुन्थ्यो, अरुहरुले पनि चिन्थे । तर म चिन्दिनथेँ ।

जब म केही कुरा बुझ्ने भएँ तबदेखि सुन्दै आएको मेरो बुवा माओवादी जनयुद्धबाट फर्किनुभएन । उतै बिलिन हुनुभयो भनेर । त्यसैले मेरो कलिलो मनस्थितिले त्यही कुरा पत्त्यायो पनि । जब कसैले बुवालाई औंल्याएर भन्थ्यो ‘उनी तिम्रो बुवा’ भनेर, तर मलाई लाग्थ्यो उनीहरू मजाक गरिरहेछन् । उनीहरू ठट्टा गरिरहेछन् । किनकि मैले बुवा ज्युदो भएर पनि बुवा हुनुको आभास कहिले पनि पाइनँ । साहेद म ठम्याउन सक्दिनँ कि बाल्यकालमा बुवाको स्पर्श कस्तो हुन्छ भनेर । जब कसैले भन्थ्यो ‘उ सम्राट तिम्रो बुवा’ । तब म कराएर भन्थेँ ‘सम्राट ! सम्राट !’ । किनकि मलाई आभास हुनै सक्थेन कि सम्राट भन्ने व्यक्ति नै वास्तवमा मेरै बुवा हुनुहुन्छ । मैले कहिल्यै महसुस गर्न सकिनँ कि कोही मेरो बुवा भनिने मानिस पनि थियो । जब एकपटक मेरो बुवा र बाजेलाई ऐँसेलु दिन पठाइयो मलाई । म साहेद त्यति धेरै सानी पनि थिइनँ । म गएँ र ऐँसेलु बाजेको हातमा थमाएर फर्किएँ । किनकि मेरो मनले भन्यो ‘को हो को चिन्दै नचिनेको मान्छेलाई बुवा भन्छन्’ । बिचरा म, आफ्नै बुवालाई बुवा भन्दा पनि पत्याउन र ठम्याउन नसक्ने अनि बिचरा मेरो बुवा जसलाई आफ्नै सन्तानले पनि चिन्न नसक्ने ।

बिचरा । यी दुबै पात्र बिचरा नै हुन् । एकले आफ्नो बुवालाई चिन्ने अवसरसम्म पाएन । स्नेहपूर्ण स्पर्श र संरक्षणपूर्ण साथ पाउनु त निकै परको कुरा भयो । अर्को पात्रलाई सन्तान जन्मिएकोसम्म थाहा भएन । जब थाहा भयो तबपनि समय दिने अवस्था रहेन र परिणामत: सन्तानले चिन्ने र पत्त्याउने अवस्थासम्म रहेन । आजपनि उठान हुन्छन् ती प्रसंग, जो त्यतिबेलाका समयमा हामीमाथि गुज्रिएका थिए । केही घटेका थिए र केही घटाइएका थिए । केही नियतबस् थिए त केही नियतिबस् ।

मेरो लागि मेरो घर बिल्कुल अपरिचित रह्यो । किनकि मलाई त्यही माटो नै आफ्नो लाग्थ्यो, जहाँ मेरो श्रद्धा भिजेको छ । मेरो जीवनको तीन महिनाको आयुदेखि उत्तरार्धको समय बितेको छ । जहाँ मेरो चीत्कार मिसिएको छ अनि जहाँ मेरो नाभी गाडिएको छ । त्यो माटो नै प्राणप्यारो थियो । मेरो निम्ति आफ्नो छुट्टै घरको कुनै अस्तित्व थिएन । त्यो घरसँग कुनै साइनो, सम्बन्धजस्तो केही थिएन । मेरी आमाले पटकपटक मलाई आफूसँग लिन चाहानुहुन्थ्यो । विभिन्न बहाना र प्रलोभन देखाउनुहुन्थ्यो । तर मलाई आमाको काखभन्दा त्यही माटो प्यारो लाग्यो । किनकि आमाको काखको न्यानो र छातीको रसान पनि त्यही माटोले पूर्ति गरेको हो । त्यसैले मलाई घरसँग प्रेम थिएन । मेरो घरसँग सामीप्यता र सम्बन्ध थिएन । हुनत जसको बुवा-आमासँगकै परिचय र सामीप्यता बलियो थिएन भने उसको घरसँगको के नाता ।

आमाको घर :-

उबेलादेखि नै घरको अवस्था सुधारमा लाग्ने कसैलाई फुर्सद थिएन । हुनत मान्छे नै को थिए र । अलग्गिएदेखि बुवा माओवादी आन्दोलनमा जानुभयो, आमा एक्लैले के गर्नु । म आफूलाई आफ्नै घर थाहा थिएन । आफ्नो माटो थाहा थिएन । यदि थाहा हुन्थ्यो भनेपनि गर्न के सक्थेँ र । आमा एक्लीलाई एउटा टाउको लुकाउन त्यही झुपडी काफी भयो होला । हुनत काफी पनि के थियो र काफी मान्नुपर्ने बाध्यता जो हो । विकल्प अर्को केही थिएन ।

एक दर्दनाक, कहालीलाग्दो इतिहास छ घरको पनि । जसरी परिवार तितरबितर थियो त्यस्तै हाल घरको थियो । एकपटक कुखुराको मासु अचानोमा राखेर काट्न लाग्दा त्यसको थर्काइले समेत घरको गारा भत्किएको थियो । त्यो दृश्य मलाई आज पनि सम्झना छ । त्यो कारुणीक अवस्था मलाई आजपनि झलझल्ती याद आउँछ । घरको त्यो अवस्था पनि देशको अवस्था भन्दा केही भिन्न थिएन । देश जिर्ण भयो क्रान्तिकारी र सत्तपक्ष बीचको लडाइँले । अनि घर जिर्ण भयो परिस्थिति र मनस्थिति बीचको लडाइँले । त्यो परिस्थिति र मनस्थिति बीचको संहारक लडाइँ पनि त्यो माओवादी र सत्ता बीचको लडाइँको नै उपज थियो ।

त्यसपछि पनि बुवालाई फुर्सद भएन घरको लागि समय, श्रम र एक थोपा प्रेमको लगानी गर्न । आमाका कल्पसम्मका दिन रात उस्तै रहिरहे । घरको जिर्ण अवस्थाको रुपान्तरणको लागि समय दिन सक्ने कुरा पनि थिएन देशको अवस्था सुधार गर्न होमिएका क्रान्तिकारी योद्धालाई । तर सुधार गर्नु अपरिहार्य आवस्यकता जो थियो । अत: आमा आफैले अर्को ऐतिहासिक कदम उठाउन पर्‍यो घरको निम्ति । एक एक्ली नारीलाई त्यो कदम उठाउनु महान साहासिक कार्य थियो । महान ऐतिहासिक उपलब्धि थियो । जसको फलस्वरूप आज एक निरीह एक्लो टाउकाले बनाएको घरभित्र ढुक्कले केही टाउकाहरु ओत लगाउन पाइरहेका छन् ।

आज जुन घरमा मेरो परिवार ओत लागेको छ त्यो घर आमाको घर हो । आमाको एक्लो उपलब्धि हो । एक्लो ज्यानको कमाइ हो । त्यो घरमा आमा बाहेक कसैको थोपा श्रम र श्रद्धा मिसिएको छैन । कसैको कौडी लगानी मिसिएको छैन । श्रम, श्रद्धा, समय र सम्पत्ति जे मिसिएको हो त्यो केवल आमाको हो । जे गर्नुभयो आमाले गर्नुभयो । सन्तान मध्यको ठूली म आफै अन्जान थिएँ घर र घरका मान्छेदेखि । अनि त्यसपछिका भान्टाङभुन्टुङ साना भैहाले । मेरो लागि उहाँहरुको खासै जिम्मेवारीको लगानी भएन तर बाँकीका भान्टाङभुन्टुङ त उहाँकै काखमा थिए । जिम्मेवारीको भारी उहाँकै शिरमा थियो । त्यसैले ती साना टाउकालाई आरामको सुरक्षीत ओत लाउन पनि आमाले एक्लैले एक घर ठड्याउनु पर्‍यो ।

आज जोजति बसेका छन् त्यो घरको छहारीमा, त्यसमा आमाको हक बाहेक कसैको छैन । सन्तानको हकले म लगायत भान्टाङभुन्टुङ बस्न सक्ने भए अनि श्रीमान हुनाको हकले बुवाको शिर ओतिने भयो । तर श्रम, समय र लगानीको हिसाबले कसैको हक छैन । त्यो घर ढडिउन्जेलसम्म को पूरा लगानीमा बुवाको तीन दिन हाजिरी बाहेक अरु केही छैन । बाँकी अरुको झन् सवालै आउँदैन । त्यसैले त्यो आमाको घर हो, आमाको आम्दानी हो । त्यो घर आमाकै श्रम, श्रद्धा र प्रेमले आर्जिएको हामी सबैमाथिको अनुग्रह हो ।

प्रत्यागमन :-

मामाघरकै सेरोफेरोलाई आफ्नो पैत्रिक र मातृ बनाएको मेरो जीवनले आफ्नो घरको आँगन टेक्ने अवसर पाएन । पहिलो कुरा त टेक्न चाहेन पनि । अन्यथा अवसर त पटकपटक आउँथे र आइरहन्थे पनि । किनकि जुन माटोमा मेरो जीवनको आरम्भ भयो त्यही माटोको सुगन्धबाट टाढा जान यो आत्माको स्वीकृति थिएन पनि । लाग्थेन कि त्यो माटोभन्दा पर मेरो आफ्नो स्वामित्वको कुनै माटोपनि छ । मेरो आफ्नो भन्न लायक भुमी पनि छ । हुनत लायक त के हुन्थ्यो र ? जुन भुमीले मेरो आरम्भलाई आफूभित्र समेट्न सकेन त्यो मेरो हुन लायक हुँदै होइन । तर आफ्नो नाभि गाडिएको भन्दा बुवाको नाभि गाडिएको भुमी नै अधिकारसम्पन्न हुने भएकोले त्यो बिरानो भुमिलाई नै आफ्नो स्वीकार गर्नुपर्ने भयो ।

मेरो शिशुकाल, बाल्यकाल, उत्तरबाल्यकाल सबै त्यही मामाघरको माटोमा भिज्यो । त्यहीँको प्रेम र श्रद्धा मेरो जीवनको जडमा भिज्यो र म नै म भएँ । मैले अक्षर चिनेँ त्यही माटोमा उभिएर । मैले दु:ख सुख जे चिनेँ त्यही माटोको छातीमा टेकेर नै । मैले जे पाएँ त्यो सबै त्यही माटोले दियो, जे गुमाएँ त्यो पनि त्यही माटोमै मिल्यो । म उफ्रेँ, दौडेँ, लडेँ, बसेँ, सुतेँ सबै त्यही माटोमा । मैले आफूलाई भरेँ त्यही माटोबाट र आफूबाट पोखेँ पनि त्यही माटोमा । बज्यैको ममताले मातृत्वको ठाउँ लियो अनि भैँसीको दुधले मेरो सुक्खा आँत भर्‍यो । त्यही मामाघरकै भुमिको छातीमा आजपनि मेरा औंलाहरुले कोरेका बाङ्गाटिङ्गा अक्षरका रेखाहरु यत्रतत्र होलान् । आजपनि मेरा खाली खुट्टाले टेक्दा बनेका पदचापहरु मेरो पर्खाइमा होलान् । तर म टाढा छु उसैको सम्झनामा छु ।

मैले जेजति पढेँ र जानेँ त्यसमा मामाघरकै देन हो । बज्यै र मामाहरुको लगानी हो । धेरै केही थिएन तर समाजका औसतहरुको जे थियो त्यो मेरो पनि थियो । जति उनीहरूले पाए त्यति मैले पनि पाएँ । त्यो चाहे शिक्षाको कुरा होस् चाहे ममताको । फरक यति नै होकि अरुले आमा-बुवाको ममता पनि पाए होलान् मैले त्यो पाइनँ । बाँकी सबै एक समान नै हो । त्यही माटोको आश्रय र बज्यै अनि मामाहरुको प्रेमील समर्पणको भरमा मेरो शैक्षिक जीवन पनि अविराम चल्यो भनौं । मैले माध्यमिक तहसम्मको पढाई सक्याएँ । जब कक्षा १० को परिक्षा अर्थात् एस.इ.इ. दिएँ तत्पश्चात मात्रै मेरो ऐतिहासिक उपस्थिति थियो मेरो भनिने घरमा । एस.इ.इ. दिनासाथ म मामाको साथमा सुर्खेत पसेँ । त्यहीँ केही प्राबिधिक शिक्षा पनि लिएँ । त्यसपछि म गएको हुँ मेरो घरमा । अथवा भनौं मेरी आमाको घरमा ।

करिब जीवनको सत्रौँ बर्षसम्म मामाको आँगनलाई आमाको काख र बज्यैको काखलाई आमाको छाती बनाएर मावलीमा बसेको म, पहिलोपटक आफ्नै भनिएको आँगनमा पुग्दा लाग्थ्यो म फरक संसारमा छु । मलाई त्यो आँगनले आफ्नोपनको महसुस गराउन सकेकै थिएन । आमाको ममता न हो, उहाँको सामीप्यताले बाहेक मलाई कसैले आफ्नोपनको आभास दिलाउन सकेन । न त्यहाँको हावापानी, न त्यहाँको डाँडापाखा, न त्यहाँको माटो अनि न त्यहाँका अनुहारहरु । अहँ कसैले पनि मलाई आफ्नोपनको अनुभुति दिन सकेनन् । नत आफ्नै जन्मदाता जनक न आफूपछिका अनुजहरु । कसैसँग पनि मेरो आफ्नोपन थिएन । लाग्थ्यो, यी सबैसँग मेरो कुनै सम्बन्ध थिएन । यी सबै बिरानो ग्रहबाट अवतरित अनुहार हुन् । अनि म पनि त्यहाँ ती सबैको लागि बिरानो ग्रहकै एक अदभूत जीव थिएँ, जसलाई उनीहरूले कहिल्यै देखेनन् ।

रगतले तान्यो, रगतले बोलायो र रगतले जोड्यो । अन्यथा कोही त्यहाँ मेरो आफ्नो थिएन । कसैसँग मेरो भावना जोडिएको थिएन । कसैसँग मेरो मन जोडिएको थिएन । नत कसैसँग मेरो अतीत र दु:ख-सुख नै जोडिएको थियो । अहँ ! कसैसँग केही सम्बन्ध थिएन । माटोबाट बनेको जीवन माटोमै मिलाउनुपर्छ । तर मेरो जीवन बनाउने माटो पनि त्यो थिएन । मेरो आँत भिजाउने पानी र मेरो श्वास चलाउने हावा पनि त्यो थिएन । न धर्ती आफ्नो थियो न आकाश । न त्यहाँ गाउने पंक्षी र पखेटा फुरफुर पार्दै आफैतिर डाक्ने पुतली, कोही आफ्ना थिएनन् । सबै बिराना थिए मेरा लागि अनि म बिरानो थिएँ सबैका लागि ।

बिरानो पनि यतिसम्म कि गाउँमा कसैलाई थाहा सम्म थिएन कि मेरो बुवा-आमाको अर्को एक छोरी पनि छे भन्नेकुरा । सबैले म पछिको बहिनीलाई नै जेठो सन्तान मान्थे । त्यहाँ भएकाहरु मात्रै मेरा बुवा-आमाका छोराछोरी थिए । मेरो कुनै गन्ती थिएन त्यहाँका मान्छेहरुको निम्ति । उहाँहरु जेठो छोरी म भएको कुरा बुवा-आमा सहित परिवारका मानिसलाई थाहा थियो होला बाँकी सबै अन्जान । सबै अपरिचित । सबैको लागि म बिरानो ग्रहको बिरानो मान्छे । जब पहिलोपटक म मेरै आमाघर बसेँ, तब बस्तीका मान्छेले अनि आफ्नै कुलका मान्छेले सम्म सोचेछन्, सम्राटको घरमा कोही नयाँ केटी कोठा भाडामा लिएर बसेकी छे । यसरी अपरिचित, अन्जान भएकै कारण आफ्नै कुल, नाता सम्बन्धका मानिसले पनि केके सोच्न पुगे होलान्, त्यो ईश्वरले जान्ला ।

बुवाले दसौं बर्ष माओवादी आन्दोलनमा लगाउनुभयो । जनवादी क्रान्तिमा सुम्पिनुभयो । व्यवस्था बदल्नाको खातिर, अवस्था बदल्नाको खातिर । युद्धमा होमिनुभयो आफ्नो जीवन र भविष्यको सबै मार्गचित्रहरु ध्वस्त पारेर । आफूभित्र आफै नरहेर केवल पार्टी, क्रान्ति र आन्दोलनलाई आफ्नो अस्तित्व, उदेश्य र गन्तव्य बनाउनुभयो । तर दसौंबर्ष पश्चात् उहाँ फेरि परिवारको पोल्टोमा औपचारिक रुपले फर्किनुभयो । बुवाले युद्ध जितेर फर्किनुभयो । जीवन जितेर फर्किनुभयो अनि मृत्यु पनि जितेर फर्किनुभयो । उहाँ फर्किनुभयो दसौं बर्षको लडाइँ पश्चात् तर म अझै ढिला फर्किएँ । मैले भने देशमा चलिरहेको युद्ध र पारिवारिक अवस्थामा चलिरहेको युद्ध, यी दुबैको बीचमा पिल्सिएर जीवनको सत्रौँ बर्ष बिताएँ । आमा अधुरो हुनुहुन्थ्यो, तर बुवाको दसौं बर्ष पश्चातको प्रत्यागमनले पुर्ण हुनुभयो । अझ केही बाँकी रहेको खालिपन मेरो सत्रौँ बर्ष पश्चातको प्रत्यागमनले पूरा गर्‍यो होला ।

बुवा फर्किएपछि परिवारको साथमा रहनुभयो तर म फर्किएपछि पनि रहन सकिनँ । पढाईको यात्रा, जिन्दगीको भागदौड आदिको कारण म फेरि बाहिरिएँ । कहिल्यै जाजरकोट, कहिल्यै, कर्णाली राजधानी अनि कहिल्यै संघीय राजधानी हुँदै देशका विभिन्न भागका आवतजावतमै मेरो तत्पश्चातको जिन्दगी लगानी भइसक्यो । जीवनको २३औँ २४औँ बर्ष पार हुँदासम्म मेरो आमाघरको प्रहिलो मीठो बसाई, ऐतिहासिक बसाई यही स्थानीय तहको चुनावबेला भयो । जहाँ म आजसम्म रहेँ त्यो आँगन मेरो थिएन र जहाँ म आज पहिलोपटक पाइला टेकेँ त्यही मेरो हो रे । तर मैले बुझ्न सकेको छैनँ, आखिर कुन आँगन मेरो हो । कुन घर मेरो हो । कुन मान्छे मेरा हुन् । मेरो भनिने वास्तवमा आमाघर या मामाघर ?

समिक्षा :-

दस बर्षसम्म उता देशको छातीमा लडाइँ चलिरह्यो । नेपाल आमाका सन्ततिहरु आपसमा काटिएर नै मरे । नेपाल आमाको छाती रगतले मुछियो । छातीभर मुछिएको रगत पखाल्न आजसम्म उनीले आँसु बगाइरहेकी छिन् तर सफल भएकी छैनन् । युद्ध त दुबैतिर चल्यो । उता नेपाल आमाको छातीमा चल्यो अनि यता मेरी आमाको छातीमा पनि । यी दुबै युद्धको बीचमा मिचिएकी म निरीह पात्र । जसले कुनै युद्ध नलडेर पनि युद्धबाट तटस्थ रहन सकिनँ । युद्धमा बर्सिएका गोलिले मेरो देह भेटेनन्, तापनि म घायल नै रहेँ । मेरो रगत युद्धमा गुमेन, न आँसु नै गुम्यो । तैपनि जीवनको एक महान युद्धमा मपनि सहभागी नै रहेँ ।

सशस्त्र माओवादी आन्दोलनको दस बर्ष मेरो बुवा आफ्नो जीवनको बलिदान गर्न जानुभयो । जीवनको बलि युद्धले स्वीकार त गरेन तर समय, श्रद्धा, सामार्थ्य, सम्भावना सबैको नामोनिशान मेटिने गरेर नराम्रोसँग चुस्यो । अन्ततः बुवा फर्किनुभयो त्यही पुरानो जिर्ण भैसकेको गुँडमा । अहँ ! उहाँ अझै सकुशल फर्किन सकेको भएत एक कुरा थियो । तर उहाँ फर्किनुभयो पनि शरीरभरी गोलि र छर्राहरुको भारी लिएर । नाममात्रैको शरीर लिएर । बस् प्राण हुल्न जेनतेन सम्भावना भएको रित्तो शरीर लिएर । जो न कमाउन सक्छ न रमाउन । जो न आफू राम्रोसँग बाँंच्न सकेको छ न बचाउन ।

प्रश्न यो छ कि, दसौं बर्षसम्मको अविराम रक्तिम संघर्षमा मेरो बुवा र मेरो बुवाजस्ता हजारौं बुवाहरुको जीउँ ज्यान, रगत, आस्था, समय, सपना, सम्भावना आदि सबैको बलि खाएको युद्धबाट कसलाई के मिल्यो ? मेरो बुवाले के पाउनुभयो अनि मेरो बुवाका समकक्षीहरुले के पाए । मेरो बुवा जस्ता नेपाल आमाका हजारौं छोराछोरीहरुले के पाए ? कसैले केही पाएनन् । १६औँ हजार बुवा-आमाहरुले त ज्यान पनि फिर्ता पाएनन् । १०औँ हजारले ज्यान त पाए तर सपांग पाएनन् । सबै मेरो बुवाकै हालतमा फर्किए । आज बेलाबेलामा बुवाका शरीरका गोलिहरु, घाउहरुले त्यही युद्धको स्मरण गराइरहन्छन् र एकाएक पश्चाताप र पराजयका ताता आँसु झारिरहन्छन् ।

बुवाको युद्धकालको दसौं बर्षसम्म आमाको जिन्दगी पनि युद्ध बिना रहन सकेन । फरक यति होकि बुवाको युद्ध रणभुमिमा थियो भने आमाको युद्ध कर्मभुमिमा । बुवा हतियार बोकेर आफ्ना कमरेडहरुसँग परेड खेल्नुभयो भने आमा हृदयभरी बेदना लिएर आँसुसँग परेड खेलिरहनुभयो । बुवाको युद्ध व्यवस्था विरुद्ध हतियारको थियो भने आमाको युद्ध नियति बिरुद्ध साहसको थियो । जसको परिणामस्वरुप मेरा बुवा-आमाका सन्तानहरुले बुवाको कौडी सहयोग बिना नै हुर्किन र पढ्न सम्भावना भयो । टाउको ओत्याउनलाई भएपनि एक घर बस्यो । जहाँ म र मेरा बुवा लगायत सबैले आज शीतल पाएका छौँ र निद्रा पाएका छौँ । तर प्रश्न यहाँ पनि उठ्छ कि मेरी आमाले माओवादी सशस्त्र आन्दोलनको आघातबाट आफूलाई बचाउँदै निर्दयी निर्मम नियति र अवस्था विरुद्ध अहोरात्र लडेको लडाइँको परिणाममा के पाउनुभयो ? अझ भनौं मेरी आमा जस्ता हजारौं आमाहरुले के पाउनुभयो ? हजारौं आमाहरूले छोराछोरी गुमाउनुभयो । हजारौं आमाहरूले आफ्नो सिंदुर गुमाउनुभयो । तर पाउनुभयो के ? अहँ ! कसैले केही पाउनुभएन ।

बुवा र आमाको युद्ध, अवस्था र व्यवस्थाको युद्ध, सत्ता र जनताको युद्ध, यी सबै युद्धको बीचमा मकैमा घुन पिसिएजस्तो पिसिएकी मैले के पाएँ ? मैले झन् केही पाएकै छैन । किनकि बुवाले केही पाउनुभएन । बुवाले पाएको भए आमाले पाउनुहुन्थ्यो, आमाले पाएको भए मैले र मेरा भाइबहिनीहरुले पाउँथ्यौँ । तर केही मिलेन । युद्धमा पिसिइरहेका हजारौं लाखौं मकैका बीचमा म जस्ता पनि हजारौं घुनहरु पिसिएका छन् । तर कसले के पाए ?

बुवाले शरीरभरी गोलि पाउनुभयो । घाइते अपांग जिर्ण शरीर पाउनुभयो । आफ्नो हजारौं थोपा रगत युद्ध नामको राक्षसलाई अर्पण गर्नुभयो । परिवारबाट र पारिवारिक स्नेहबाट कोसौँ टाढा रहनुभयो । आफ्ना सन्तानले सम्म नचिन्ने अवस्थामा पुग्नुभयो । आमाले बेदना, वियोग, दु:ख, चिन्ता, एक्लोपन, अभाव, आँसु सबै पाउनुभयो । तर त्यो बाहेक अरु केही पाउनुभएन । मैले झन् केही पाउनै सकिनँ । न आमाको काख पाएँ न बुवाको संरक्षण । बस् मिल्यो त केवल यही एक कारुणिक इतिहास । फेरि कसैले भन्नसक्छ, बुवा आमाको त्यो बलिदानिले गणतन्त्र पायो भनेर । यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन । पहिला एक राजा थिए अहिले सयौं राजा भएका छन् जनप्रतिनिधिको नाममा । पहिला राजतन्त्र प्रत्यक्ष थियो तर अहिले गणतन्त्रको खोल ओढेको नृशंस निर्दयी भयंकर राजतन्त्र छ । बस् हामीले पाएको यति नै हो । यही जनयुद्धले तितरबितर पारेको जिर्ण परिवार, ध्वंस पन, घायल मन र अस्थिर परिस्थिति …… ।

मेरी मित्र अझै आफ्नो जीवनको कहालीलाग्दो इतिहास र त्यसको परिणाम अविराम सुनाउँदै थिइन् । उनका गुनासाहरु एक मित्रसँंग निर्धक्क पोख्दै थिइन् । मनभित्रका घाउहरु देखाउँदै थिइन् । उनलाई आफ्नो पाकेको मन खोल्न पुगेकै थिएन । तर दुर्भाग्य फोनले साथ दिएन । उनका बाँकी यस्तै भावहरु, गुनासाहरु र पीडाहरु कति होलान् कति । अनि उनका मात्रै होइनन् यस्तै मेरो देशभरका मित्रहरूका कति होलान् कति । उनी मेरी मित्र एक प्रतिनिधि पात्र हुन् । उनको कथा प्रतिनिधि कथा मात्रै हो ।