‘भूकम्पले नढालेको अर्थतन्त्र याे अवस्थामा पुग्नु चिन्ताको विषय’

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरणको पहल गरिरहेको बताएका छन् ।

आज (बुधबार) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आफू मन्त्री भएर मन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौती र समस्या समाधानका लागि अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन् । उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाए । उनले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटनाको अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए । सबै अफ्ठ्याराहरू पार गरेको अवस्थामा अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले भूकम्पको प्रभाव, नाकाबन्दी र कोरोना महामारीको प्रभाव छैन । भूकम्पपछिको पुनर्निर्माण धेरै हदसम्म पूरा भएको छ । नाकाबन्दी छैन । कोभिडलाई पनि धेरै हदसम्म पार गरेको अवस्था छ तर हामी किन आर्थिक अवस्थामा चिन्ताजनक अवस्थामा छौँ ? किन अर्थतन्त्रलाई माथि लिएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा छौँ ? म अर्थतन्त्रका समस्याका कारणहरू विवेचना र विश्लेषण गर्दै समाधान गरी अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशील बनाएर अगाडि बढाउने सङ्कल्पमा रहेको छु ।’

मन्त्री पौडेलले राजस्व सङ्कलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताए । उनले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभावलगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उत्पादनमूलक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ सरकार लागेको बताएका छन् ।

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताए । आरोप–प्रत्यारोप गर्नुभन्दा पनि सरकार र निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरी अर्थतन्त्रलाई सही दिशामा ल्याउनुपर्ने उनले बताएका छन् ।