‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नु हुनेछ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् । उनले आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।

वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजोको सर्वदलीय बैठकमा संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति कायम गर्ने प्रस्ताव गरेका थिए । महामन्त्री शर्माले कुनै व्याख्या नगरी कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।

‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नु हुनेछ,’ शर्माले भने । शर्माले भने, ‘अहिलेलाई यति मात्रै कुरा गरौं । धेरै टिप्पणी गर्नु उचित हुँदैन । किनभने अहिले हामी सभामुखको चरणमा छौं । सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चरण जब आउँछ, त्यसपछि थाहा हुन्छ । यसका लागि समय लाग्छ ।’ उनले दावी गरे, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नु हुनेछ ।’