घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने
काठमाडौँ । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि (शुक्रबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उनले चर्को विरोध गरे । यस्तै महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उम्मेदवारी दिएका थिए ।
गएको मंसिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उनले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिएका थिए । चुनावमा पराजित भएपछि उनी निष्क्रिय जस्तै थिए । एकीकृत समाजवादीले घनश्याम भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने बताएका छन् ।