गृहमन्त्रीले संसदभित्र केटाकेटीपन देखाए : रमेशजंग रायमाझी
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने उनले बताएका हुन् । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्ति पछिको उत्साह अंहकार भएको उनको टिप्पणी थियो ।
उनले कानुनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वार्थ बाझिने गरी देशको प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताए । संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भीर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको पनि उनले बताए ।