नेकपा एस र जसपाबीच एकताको पहल

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीबीच एकताका लागि पहल थालिएको छ । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीसँग एकताको विषयमा कुराकानी भइरहेको जनाएको छ । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपसँग एकताको विषयमा कुराकानी भइरहेको बताएका छन् ।

‘उहाँले (मनिष सुमन) आश्चर्य नमान्नु भन्नु भनेको मानसिकता बनाउनु भन्नु भएको हो । हामी जनता समाजवादी पार्टीसँग एकताको विषयमा संवादमा रहेका छौं,’ खतिवडाले भने । तर प्रवक्ता खतिवडाले दुवै दलबीच एकताको विषयको छलफल कहाँ पुग्ने भन्ने विषयमा भने खुलाएनन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाको संसदमा १२ स्थान रहेको छ । ४ लाख २१ हजार मतका साथ राष्ट्रिय पार्टी बनेको छ । १० जना सांसद रहेको एकीकृत समाजवादीले भने ३ प्रतिशत थ्रेस होल्ड कटाउन असफल भयो । तत्कालै सरकारमा जाने सम्भावना नरहेपछि समाजवादीले अब पार्टी संगठन बलियो बनाउने योजना अघि ल्याएको छ ।

‘बैठकमा धेरै साथीहरुले अबको पाँच वर्ष पार्टी संगठन बलियो बनाउन लागौँ भन्नु भएको छ’, खतिवडाले भने, ‘अब तत्कालै वाम एकता पनि सम्भव नरहेकाले संगठन मजबुत बनाउन जुट्छौं ।’ यता जसपाले पनि सरकारमा सहभागी हुनेबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।