चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई ३ अर्बको ठेक्का

काठमाडौं ,  सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ। लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी (शर्मा सगुन जेभी) लाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो।

खड्का चितवनको भरतपुरको नालीमा परेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन्। उनीमाथि प्रहरीले ९ महिनाअघि नै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी हालसम्म पक्राउ परेका छैनन्। गत वर्ष माघ ९ मा चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गैंडाको मृत्यु भयो। घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायो।

चितवन राष्ट्रिय निकुञ्जले घटनाका दोषी ठहर गर्‍यो सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई। माघ १३ गते खडकाविरुद्ध निकुञ्जले पक्राउ पुर्जी समेत जारी गर्‍यो। तर उनी पक्राउ परेनन्। राजनीतिक पहुँचका कारण देखाउँदै उनलाई उन्मुक्ति दिइएको आरोप संरक्षणकर्मीहरूले लगाएका थिए। उनै ठेकेदारलाई ३ अर्ब ८ करोड रुपैयाँको ठेक्का दिएर लुम्बिनी प्रदेश सरकारले पुरस्कृत गरेको हो।

सुरुवातमा आयोजनाले पूर्वतयारीको काम नै सम्पन्न नभई ठेक्का आह्वान गरेको थियो। जसकारण अघिल्लोपटकको प्रक्रिया नै रद्द भएको थियो। आयोजनाले वातावरणीय प्रभाव मूल्यांक (इआइए) नै नगरी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको थियो। जसकारण उच्च अदालतमा मुद्दा समेत परेको थियो। अदालतले ठेक्का प्रक्रिया नै रद्द गरेर इआइएको काम अघि बढाउन आदेश दिएको थियो। तर प्रदेश मन्त्रिपरिषद्‌को बैठकले इआइए र ठेक्का प्रक्रिया एकैसाथ अघि बढाउने निर्णय गरेको थियो।यो आयोजना निर्माणका लागि पहिलो चरणमा बन्ने १० वटा भवनको निर्माण लागत लगभग ४ अर्ब २१ करोड रुपैयाँ अनुमान गरिएको थियो। हालसम्म प्रदेश सरकारले नै बजेट विनियोजन गरेको छ। तर यो परियोजना नेपाल सरकारको १८ बिघा जग्गामा निर्माण हुन लागेको हो।

निर्माण कार्यको जिम्मा पाउने निर्माण कम्पनीले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। पुसभित्र ठेक्का सम्झौता गरी माघदेखि निर्माणको काम सुरु गर्ने तयारीमा आयोजना छ।लुम्बिनी प्रदेश राजधानी, प्रशासनिक भवन र पूर्वाधार निर्माण पहिलो चरण अनुसार आरसीसी फ्रेम संरचित मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय भवन, विद्युतीकरण, सरसफाइसहित विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरू, आन्तरिक सडक निर्माण र ल्यान्डस्केपिङ कार्यहरू छन्।

चार तलाको ९ वटा मन्त्रालय र ५ तलाको एउटा मुख्यमन्त्रीको भवन गरी पहिलो चरणमा १० वटा भवन निर्माण हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउँपालिका-२ मा निर्माण हुनेछ।