गठबन्धनको घेराबन्दी छिचोल्न सकेनौँ : गोकुल बाँस्कोटा
काभ्रे, २ बाट निर्वाचित एमाले सांसद गोकुल बाँस्कोटाले चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका पार्टीहरूलाई समेत काभ्रेको विकास निर्माणका सवालमा सँगै लिएर हिँड्ने बताएका छन् ।
निर्वाचित भएपछि काभ्रेका सञ्चारकर्मीसँग कुराकानी गर्दै बाँस्कोटाले राष्ट्र निर्माण र राष्ट्रिय उत्पादन बढाउन सबैको साथमा अघि बढ्ने बताएका हुन् । उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारपूर्वक पुरा गर्न कुनै कसर बाँकी नराख्ने समेत बताए ।
‘जनताप्रति जवाफदेही छौ र अझै हुनेछौ । देशको कानुनप्रति जवाफदेही छौ र त्यसको परिपालना गर्छौ, हामी देशको राष्ट्रियताप्रति जवाफदेही छौ र राष्ट्रियताप्रतिको अघात विश्वास ढाल्न दिनेछैनौँ’, बाँस्कोटको भनाइ छ । उनले गठबन्धन संस्कृति देशको विकास र निकासका लागि फाइदाजनक नभएको भन्दै एमालेप्रतिको घेराबन्दी सबै ठाउँमा छिचोल्न नसकिएको बताए ।
उनले अझैपनि एमाले सबै समुदाय र वर्गलाई समेटेर अघि बढ्ने कुरामा पछि नहट्ने भन्दै आफूमाथि लगाइएको आरोपलाई जनमतले खण्डित गरेको र आफूले कुनै गल्ती नगरेको बताए ।