माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र
माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् ।
माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी खटिएका थिए । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-१ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए ।
‘कर्मचारीलाई चिसोका साथै खान र बस्न समस्याका भएको छ,’ उनले भने, ‘समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा छ । उनीहरूलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने गरेकाे बोहोराले बताए । उनले भने हिँडेर जाने सक्ने अवस्था नभएकाे बताए । याे स्थान पाँच हजार मिटर उचाइमा छ ।
उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी १ मंसिरदेखि अलपत्र परेका हुन् ।डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात् बाँकी कर्मचारी ल्याउने भनिए पनि हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धार हुन नसकेको बताए ।