बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार पुग्यो

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जीप आज बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

मतपेटिका पुर्‍याएर फर्कंदै गरेको प्रहरी चढेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

‘तीन जनाको घटनास्थलमै ज्यान गएको छ, घाइते अर्काको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ,’ उनले भने । घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ’, ‘उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ’, ‘घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छाैं, सेनाको हेलिकप्टर आउँदैछ ।’

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।