जुम्लामा सर्वदलीय बैठकपछि मतगणना हुने

जुम्ला, आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।मतगणना सुरु गर्नका लागि केही बेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ। सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणना स्थलमा उम्मेदवार र राजनीतिक दलको एक÷एक जना प्रतिनिधिलाई सहभागी हुनेछन् । जिल्लामा सङ्घीय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम (कुँवर), नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजङ्ग शाही, नेकपा एमालेका धीरेन्द्रराज गिरी र स्वतन्त्र उमेर देवेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई र स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई स्थानका लागि निर्वाचन भएको छ ।

जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । जिल्लामा एक सय छ मतदान केन्द्र र ८३ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।