अछाममा करिब ५५ प्रतिशत मत खस्याे

अछाम, अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो ।

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको उनले बताए ।जिल्लामा क्षेत्र नम्बर १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए । भने क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरि ७९ हजार ६२७ जना मतदाता रहेका थिए ।

जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गरी १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् ।कुनै मतदान केन्द्रमा ६०-६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए ।अहिले कर्मचारी मतपेटिका शिल गरि मतदान अधिकृतकाे कार्यालयमा फर्किने क्रममा रहेका छन् ।