आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने
प्रकासित मिति : २०७९ मंसिर ३, शनिबार २०:४१
प्रकासित समय : २०:४१
काठमाडौं । आज (शनिबार) राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो ।
आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् । ‘बिहान ४ बजेदेखि सवारीसाधन चलाउन रोक्ने निर्णय यसअघि नै भइसकेको छ,’ उनले भने, ‘कतिपय बाटोमै अलपत्र पर्न सक्ने भएकाले राती १२ बजेदेखि नै रोक लगाउन भनेका छौं ।’
निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ ।