धर्मेन्द्र बास्तोलाको विद्यार्थी सङ्गठनका नेता काठमाडौंबाट गिरफ्तार
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठनका नेता गोबिन्द बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ।
नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय, क्याम्पस विशेष समिती इन्चार्ज गोबिन्द बिष्ट र काठमाडौं जिल्ला सदस्य धनराज विश्वकर्मालाई काठमाण्डौँको नयाँ बानेश्वरबाट प्रहरीले शनिवार गिफ्तार गरेको सङ्गठनले जनाएको छ ।
स्वतन्त्र रुपमा आफ्नो बिचार राख्न पाउने अभिव्यक्ति स्वतन्त्रताको धज्जि उडाउँदै सरकारको ठाडो आदेशमा विद्यार्थी नेता विष्टलाई प्रहरीले गिरफ्तार गरेको भन्दैँ सङ्गठनले आपत्ती जनाएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईले शनिबार एक प्रस विज्ञप्ति जारी गर्दैँ नेपाली जनताको संघर्षको सात दशक वितिसक्दा पनि जनता स्वाधीन र अधिकार सम्पन्न हुन नसक्नु अहिलेको दलाल संसदीय व्यवस्थाको असफलता भएको बताए । देश भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको छ, कथित स्थानीय जनप्रतिनिधिहरु भ्रष्टाचार गर्न प्रतिस्पर्धा गरिरहेको वताउदैँ उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गरि वैधानिक रुपमा भ्रष्टाचार र राष्ट्रघाती सम्झौता गर्नको लागि जनतामा झुटो अफवाह फैलाउदै आगामी मंसिर ४ गते निर्वाचन को घोषणा गरेको आरोप लगाए ।
‘हामिले बिगत देखि नै संसदिय व्यवस्थामा गरिने हरेक चुनाब बहिष्कार गर्दै आएको र आगामी मंसिर ४ गते गर्न लागेको संसदिय निर्वाचन (प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचन) लाई समेत सक्रिय रुपमा अवज्ञा गर्ने निर्णय गर्दै अगाडी बढिरहेको कुरा अवगत नै छ हाम्रो शान्तिपूर्ण गतिविधिबाट अत्तालिएर आज दिउँसो बाटोमा हिड्दै गर्दा नयाँ बानेश्वरबाट संगठनका सचिवालय सदस्य तथा त्रि. वि. – क्याम्पस विशेष समिति ईन्चार्ज गोबिन्द विष्ट र काठमाडौ जिल्ला सदस्य धनराज विश्वकर्मालाई गिरफ्तार गरेको घटनाप्रती हामी घोर निन्दा एवम् भ्रत्सना गर्दछौं। गिरफ्तार गरिएका कमरेडहरुको अबिलम्ब विनासर्त रिहाई गर्न जोडदार माग गर्दछौं अन्यथा थप संघर्षका कार्यक्रमहरु संचालन गर्न हामी बाध्य हुने कुरा जानकारी गराउन चाहन्छौं।’
शुक्रबार मात्रै सङ्गठनका केन्द्रीय सदस्य तथा प्रदेश नं. २ इन्चार्ज उपेन्द्र परियारलाई सर्लाहीबाट प्रहरीले गिरफ्तार गरेको छ। संसदीय व्यवस्था अन्तर्तको निर्वाचनले देश र जनताको समस्या हल गर्न नसक्ने भन्दैँ नेकपा (बहुमत) सहित, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, विप्लव नेतृत्वको नेकपा लगायतका दुई दर्जन बढी राजनीतिक दलले चुनावको अवज्ञा तथा बहिस्कार गरेका छन् ।