नेपालगन्जमा प्रेसर कुकर बम विस्फोट, दुई जना घाइते
नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार सल्यान बागचौर–२ का डिल्ली बहादुर बिसी वर्ष २७ तथा घाेडाघाेडी नगरपालिका, कैलालीका धर्मबहादुर सुनार वर्ष ३३ काे घाइते भई भेरी अस्पतालमा उपचारकाे लागि लगिएकाे तथा उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेजमा लगिएकाे जनाएका छन् ।
भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो । घटनामा संलग्न अन्य दुई जना फरार छन् ।
घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न थालेको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ भने घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।