अध्यागमनका दुई अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस भएको छ। अध्यागमन विभागले गठन गरेको छानबिन समितिले कर्मचारीको चरम लापरबाही रहेको देखाउँदै अधिकृतद्वय सन्तोष सुवेदी र गणेशबिक्रम शाहमाथि कारबाहीको सिफारिस गरेको हो।

अध्यागमनको कमजोरीले वैदेशिक ठगी मुद्दामा फरार नुवाकोटका श्यामराज पाण्डे ७ कात्तिकमा विमानस्थलबाटै भागेका थिए। जापान जान लाग्दा अध्यागमनको सिस्टममा उनको नाम कालोसूचीमा देखिएको थियो।

ठगी मुद्दामा फरार रहेकाले कालोसूचीमा देखिएपछि तत्कालै प्रहरीलाई खबर गर्नुपर्नेमा उनीहरूले भागिसकेपछि खबर गरेका थिए। सो विषयमा अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले घटनामा कर्मचारीको गल्ती औँल्याउँदै कारबाहीको सिफारिस गरेको हो। सोही सिफारिसअनुसार दुवै अधिकृतमाथि कारबाही प्रक्रिया अघि बढेको विभागका महानिर्देशक ऋषिराम तिवारीले बताए।

‘घटनालगत्तै हामीले दुवैजना अधिकृतलाई जिम्मेवारीबाट हटाइसकेका छौं,’ उनले भने, ‘छानबिन समितिको सिफारिसअनुसार उनीहरूमाथि गृह मन्त्रालयले अब कारबाही गर्नेछ।’

छानबिनको क्रममा पाण्डेलाई लिन अध्यागमन अधिकृत सुवेदी एक तलामुनि आफैँ गएका थिए। कालोसूचीमा नाम परेको देखेपछि पनि पाण्डेलाई जापान पठाउन प्रयास गरेको देखिएको थियो।

प्रयास असफल भएपछि पाण्डे एक तलामुनि झरी प्रस्थानको ढोकामा रहेका प्रहरीलाई झुक्याएर भागेका थिए। त्यसपछि मात्र अध्यागमनले प्रहरीलाई खबर गरेको थियो। त्यस वेलासम्म पाण्डेले विमानस्थल छाडिसकेका थिए।