माओवादीका प्रदेश उपाध्यक्ष पदमुक्त
रोल्पा । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।
रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा उम्मेदवार रहेका कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।
रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो । तर कांग्रेसको भागमा परेको प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीका पोलिट्ब्यूरो सदस्य दीपेन्द्रले उम्मेदवारी दिएका छन् ।
गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको छ ।