३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बर्दिया, जिल्ला अदालत बर्दियाले ३० वर्ष कैद सजाय सुनाएको एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दियाले २०७३ पुस २४ गते उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी कुल ३० वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले दाउ प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरी फरार भएका अजिबलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो ।बयान दिने कार्य सम्पन्न भएपछि शौचालय जान्छु भन्ने बहाना गरी अजिब शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए ।सोमबार पक्राउ पश्चात उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।