कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु

काठमाडौँ, कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु उनले बताए ।

उनका अनुसार बम नयाँ वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकालाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको प्रजिअ शर्माले जानकारी दिए । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको बताए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।