सञ्चार माध्यम आवाज विहिनहरुको आवाज हुनुपर्छ : खेलकुद मन्त्री गतराज

बाँके, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा बाँके क्षेत्र नं. १ बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्थानीय सञ्चार माध्यम आवाज विहिनको आवाज हुनुपर्ने बताए ।समृद्धिका लागी सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले राप्ती सोनारी-२ अगैयामा सोमबार आयोजना गरेको तेस्रो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका खेलकुद मन्त्री गहतराजले सञ्चार माध्यमको आवाज बिहिनको आवाज भएकोले जनता सुसूचित र चेतनशील बनाउन सहयोग गर्ने बताए ।

उनले बाँके जिल्लाको राप्ती सोनारी र नरैनापुर क्षेत्र सञ्चार माध्यमबाट पछाडी परेको अवस्थामा रेडियो भूवर भवानी स्थापना भएपछि सूचना र सञ्चारमा अत्यन्तै टेवा पुगेको बताए । सबै क्षेत्रले आ-आफ्नो तर्फबाट स्थानीय रेडियोलाई सहयोग गर्नुपर्ने र आफु पनि सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए । ‘भौतिक पुर्वाधारको विकास गरेर मात्र हुदैन, समृद्धिका निम्ति सञ्चार माध्यमको पनि विकास हुन जरुरी छ,’ उनले भने ।

स्थानीय सञ्चार माध्यमको विकास र प्रवद्र्धन गर्नमा सबैले हातेमालो गर्नुपर्ने बताउँदै मन्त्री अथकले समाज रूपान्तरणमा संचारमाध्यमकाे प्रभावकारीता महत्वपुर्ण रहेकाे उल्लेख गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश निवर्तमान सांसद तथा बाँके निर्वाचन क्षेत्र न १ ‘क’ प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णा केसी ‘नमुना’ले नैरनापुर र राप्तीसोनारीमा रेडियोले पुर्‍याएको योगदान बारे चर्चा गर्दै आफुले सो क्षेत्रको विकासका निम्ति आफुले गरेको काम र आगामी दिनहरूमा गरिने योजना बारे जानकारी गराएकी थिइन ।

समृद्धीका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पुर्व संविधान सभा सदस्य पट्टु थारु, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, गाउँपालिकाका संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी, नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका सभापती भिमबहादुर रानाक्षेत्री, समाजसेवी तिर्थराज डाँगी, नागरिक उन्मुक्ती पार्टीका नेता सुरेश थारु, राप्ती सोनारी ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’, थारु पत्रकार संघ बाँकेका अध्यक्ष हेमन्त चौधरी, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका उपाध्यक्ष लेखराज ओली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।