यम-पञ्चकको आरम्भ र सत्यताको यथार्थ सन्देश

तपाईं दुनियाँमा सौन्दर्य कहाँ खोज्नुहुन्छ ? के यो हाम्रो सानो अञ्जुली जत्रो देशमा छैन र ? तपाईं प्रेम कहाँ खोज्नुहुन्छ ? के प्रेम यो बुद्ध भुमिले सिकाएको छैन र ? अनि तपाईं कहाँ गएर कुन शान्ति खोज्नुहुन्छ ? के यो शान्ति भुमिमा मिल्दैन र ? सबथोक हाम्रै वरिपरि छ अनि सबथोक हाम्रै बीचमा छ । तर बिडम्बना ! हामीले चिन्न, पढ्न अनि बुझ्न सकेनौं ।हामी विश्वकै सबैभन्दा पृथक र सुन्दर सांस्कृतिक सम्पदा भएको मुलुकमा छौँ । यहाँ सबथोक उत्तम र उत्कृष्ट छन् । अँ ! केही सांस्कृतिको आवरण ओढेर जरा गाडेका, सडे गलेका विकृति विसंगति बाहेक । हाम्रा बाँकी सांस्कृति र परम्परा विश्व समुदायको बीचमा साच्चिकै अनौठा र भिन्न छन् । अझ तिहारलाई म विशेष रुपले अर्थ्याउँछु । किनकि तिहार अर्थात यमपञ्चकलाई आजका सभ्य र नवीन पुस्ताले खासै गहन ढङ्गले पढ्न र बुझ्न सकेका छैनन् । यसको अर्थ, महत्त्व र गहिराईलाई खोतलेर हेर्न सकेका छैनन् ।

यमपञ्चक कहिले भन्ने कुरा लगभग धेरैलाई थाहा हुन्छ तर के र किन भन्ने बारेमा भने मैले केही बोल्नुपर्छ जस्तो लाग्छ । त्यसैले हामी जाउँ यमपञ्चक अर्थात भाइ-तिहारको सन्दर्भमा केही कुराकानी तर्फ ।

यमपञ्चक के र कसरी ?

यमपञ्चक वैद्धिक सभ्यताका दुई व्यक्तिहरुको प्रेमको संगम स्वरुप विकसित भएको अथवा विकसित गराइएको प्रेमको एक अद्भुत अलंकार हो, जसलाई हामी भाइ-तिहारको नामले जान्दछौँ । देवहरुमा श्रेष्ठ देव ‘सुर्य’का दुई पत्नी थिए, सन्ध्या र छाया । सन्ध्या विश्वकर्मा पुत्री थिइन भने छाया सन्ध्या द्वारा अविर्भावित थिइन ।

सुर्यपत्नी सन्ध्या मार्फत जन्मिए तीन सन्तान जसमा श्राद्धदेव, यमराज र यमी थिए । यमी अर्थात यमुना अनि यमराज अर्थात मृत्युका देवता । यिनै दुई दाजु बहिनिको प्रेमालंकार स्वरुप विकसित भयो वैद्धिकहरुको यमपञ्चक अर्थात भाइ-तिहार । प्रसिद्ध यमपञ्चक श्रीकृष्णको अस्तित्वकालमा आरम्भ भएको एक कहावत मैले सुनेको हुँ, तर सत्य जो हो कृष्ण जानुन् अनि सत्य जो हो यम र यमी जानुन् । मैले जति जानेको हुँ त्यही उल्लेख गर्दै छु ।

यमुना भन्नासाथ तपाईंको मस्तिष्कमा आयो होला यमुना नदि । यदि यसो हो भने तपाईं सहि हुनुहुन्छ । यमुना नदिनै हुन् जो भारतवर्षको प्रसिद्ध नदि, अनि यमुनाको अर्को पहिचान, उनी सुर्य र सन्ध्याकी पुत्री र यमराजकी जुम्ल्याहा बहिनी पनि हुन् । जतिबेला श्रीकृष्णको अस्तित्व थियो त्यतिबेला उनी प्रतिदिन यमुना किनारमा स्नान गर्न जान्थे । त्यहीँ गोठालो जान्थे, त्यहीँ नुहाउँथे र त्यहीँ विभिन्न लीला गर्थे । अनि अर्को कुरा, यमुना पवित्र तिर्थस्थल पनि मानिने हुँदा त्यहाँ पितृ तर्पण गर्न जाने, श्राद्ध गर्न जानेहरूको भिडनै हुन्थ्यो । यमुना किनारमा खुसी बाँड्नेहरु भन्दा अधिक दुख बिसाउनेहरुको घुइँचो हुने गर्थ्यो । जहाँ श्राद्ध गरिन्छ, जहाँ पिण्ड अर्पण गरिन्छ, त्यहाँ मानिस रमाउने र विनोद गर्ने कुरा पनि भएन ।

एकातिर कृष्ण त्यही यमुनामा प्रेम, उन्माद र लोक कल्याणको पवित्र भाव पोख्छन्, अनि अर्कोतिर त्यही यमुनामा मानिसहरु आँसु पोख्छन् र दुख पोख्छन् । यी दुईको संगमले यमुनाको कोमल हृदयलाई विक्षिप्त बनायो । हुनत मानिसहरुको पीडादेखी यमुना जि प्रभावित हुनसकेको भए त सो घटना कृष्णकाल पुर्वनै हुन्थ्यो र सांस्कृतिको रुपमा विकसित हुन्थ्यो । तर त्यसो भएन । यसको अर्थ हामी यसरी बुझ्न सक्छौं कि, मानिसको दुख देखेर यमुना प्रभावित भइनन् बरु श्रीकृष्णको प्रेम, करुणा भाव र लोक कल्याणको प्रवृत्तिबाट प्रभावित भएको भन्ने बुझौं । र श्रीकृष्णको गुण यमुनामा पनि घोलिएको बुझौं ।

मानिसहरु यमुनामा गएर रुन्थे, पीडा पोख्थे, श्राद्ध गर्थे, पिण्ड दिन्थे । यसबाट यमुनाले बुझिन् कि जीवनको सबैभन्दा ठूलो दुख केवल मृत्युु रहेछ । र मानिसको सबैभन्दा ठूलो भयनै मृत्युको भय रहेछ । यदि मानिसलाई मृत्युुबाट मुक्त गर्न सकियो भने दु:ख समाप्त हुनेछ । यो यमुनाको भाव हो । तर मृत्युबाट मुक्त कसले गर्न सक्छ ? जसले जन्म दियो उसले मुक्त गर्न सकेन अनि यमुना कसकी छोरी, कसकी बहिनी, कसकी श्रीमती, उनले कसरी मुक्त गर्न सकुन् । तरपनि उनमा प्रबल भाव बनिरह्यो कि मानिसलाई छोटो समयको लागि भएपनी मृत्युुको भयबाट मुक्त गराउनु पर्छ ।

उनको यो लोक कल्याणको भावले अब उनलाई उपाय खोज्न विवश पारेरै छाड्यो । तर उनले मृत्युु मुक्तिको कुनै उपाय भेटिनन् । किनभने यो उनको सृष्टि थिएन, यो उनको अस्तित्व थिएन । यो त ईश्वरको अस्तित्व थियो अनि यो परम सत्य अनन्त ब्रह्माण्डको नियम थियो जो टार्न या बदल्न उनको मात्रै होइन कोहिको पनि अधिकार र क्षमतामा थिएन । तर उनी चाहान्थिन कि कमसेकम समयको लागि भएपनि मृत्युुको भय टरोस् । यसकारण उनले यो एक योजनाको रचना गरिन ।

यमपञ्चकको आरम्भ र अनन्त अस्तित्वको वरदान :

यमीको जुम्ल्याहा दाजु यम, जसलाई मृत्युुको देवता मानिन्छ । अब यमी अर्थात् यमुना चाहान्थिन कि केही समयको लागि भएपनी यमले आफ्नो उत्तरदायित्वबाट विश्राम लिउँन र मानिसको मृत्युु अनि मृत्युको भय टरोस् । यसकारण उनले आफ्नो दाजु यमलाई आफ्नो लोकमा आमन्त्रित गरिन । बहिनी हरेक दाजुको प्रिय हुन्छिन् र बहिनीका अधिकांश मागहरूलाई इन्कार गर्न हिम्मत गर्दैनन् कुनैपनि दाजुहरु । जस्तो म पनि ।

अब यमले यमीको आमन्त्रणलाई स्वीकार गरे र यहीँबाट जोडियो काग र कुकुरको भुमिका । पहिलो दिन यम आउँदै छन भन्ने खबर लिएर यमी अर्थात् यमुनासम्म काग पुग्यो, जसलाई यमराजको दुत पनि भनिन्छ र अर्को दिन फेरि यमको सन्देश लिएर कुकुर पुग्यो यमुनासम्म । यसैले काग र कुकुरको भुमिका जोडियो र यमराजका दुत कहलिए । तत्पश्चात गोरु र गाइको भुमिका कसरी जोडियो भन्नेमा म पनि अन्जान छु त्यसैले उल्लेख गर्न सकिनँ ।

पाँचौं दिन, जब यम यमीको लोकमा पुगे, तब यमी दाजुको सत्कारको तामझाम सहित तयार थिइन् । दाजु आए, उनले भव्य दिव्य, अद्भुत केके ढंगले स्वागत गरिन् गरिन् त्यो मैले देखिनँ तर सुनेँ कहावत । यमुनाले सप्तरङ्गी टीका र मालासहित पहिर्‍याएर सफलता, विजय अनि अनन्त अस्तित्वको कामना गरिन् । अनि मधुर मिष्ठान्नले तृप्त गराइन् । यहि क्रममा उनले बिर्सिए कि, बहिनीसँगको प्रेमलाप भन्दा परपनि उनको केही महान जिम्मेवारी छ । फलतः त्यो दिन मानिसको मृत्यु टरेर छोड्यो ।

यमीको सत्कार, पुजा अर्चना र अद्भुत प्रेमसहितको मधुर मिष्ठान्नले अत्यन्तै उल्लासमय र प्रेमिल बनेका यमले दक्षिणास्वरुप केही कामना गर्न यमीलाई आज्ञा गरे । वरदान माग्न आज्ञा गरे । आखिर यमी अर्थात् यमुनाले खोजेको पनि त त्यही थियो, उनी जे पनि माग्न सक्थिन् तर मागिनन् । तब यमुनाले वरदानमा कामना गरिन् कि यो दिन युगौँ युगसम्म धर्तीवासी मानवहरुको लागि एक प्रेमको दिन बनोस् । प्रत्येक भाइ बहिनीको पवित्र दिन बनोस् । प्रेम हर्ष र उल्लासको दिन बनोस्, अनि कमसेकम यो दिनमा कोहि भाइले बहिनी गुमाउन नपरोस् अनि कोहि बहिनीले भाइ गुमाउनु नपरोस् । अर्थात् यो दिनमा कोहि नमरोस् । प्रेम र निश्चिन्त उल्लास भन्दा अर्को यो दिनमा केही नहोस् । यो कामना यमको उत्तरदायित्वको निम्ति सहि थिएन, तर बहिनीको माग न हो, दिए उनले पनि । यसरी आरम्भ भएको रहेछ यो यमपञ्चक, अर्थात् हाम्रो पवित्र भाइ-तिहार । यहि सुरुवात थियो जसले काग, कुकुर, गाइ र गोरु पुज्ने प्रथाको आरम्भ पनि ।

हामीले के सिक्नुपर्छ ?

सर्वप्रथम त हामीले सिक्नुपर्ने छ प्रेम । मानिस प्रतिको प्रेमले यमीले एकदिनको मृत्युुको भयबाट मुक्ती र भाइ-बहिनीको अनन्त प्रेमको वरदान मागिन अनि यमले बहिनीको प्रेममा कुनै सम्पत्ति दिएनन् । बरु दिए वचन, बरु दिए आस्था र श्रद्धा । उनले अर्पण गरे आफ्नो धर्म र कर्तव्यको एक अंश, जो अनन्त प्रेमको अलंकार थियो । अत: हामीले यो पवित्र प्रेमको चाडलाई मुद्राको हिसाबमा रुपान्तरण गरिनु भएन । बस् प्रेम दिइयोस् । बस् आस्था र समर्पण दिइयोस् । निशर्त अनि निश्वार्थ ।

कागलाई किन पुज्ने ? जसलाई तपाईंले कहिल्यै मननै पराउनु भएन । काग तिहारको दिन बाहेक कहिल्यै कागलाई तपाईंले फर्केर हेर्न चाहानुभएन । तर त्यही कागलाई किन पुज्ने ? यो एक गहिरो प्रश्न हो । तपाईं यसकारण पुज्नुहुन्छ, किनकि तपाईंले यहि संस्कार पछ्याउँदै आउनुभएको छ । तपाईं यसकारण पुज्नुहुन्छ, किनकि तपाईंलाई सिकाइएको छ कि काग यमदुत हो र यसलाई पुज्नुपर्छ काग तिहारमा । अन्य दिनमा त ढुङ्गा हान्दा या पासोमा पार्दा पनि फरक पर्दैन । हामीले सहि ढंले बुझ्न सकेनौं ।

वैद्धिक दर्शनले भन्दछ कि प्रत्येक जीवमा ईश्वरको निवास छ र प्रत्येक जीव ईश्वरको सृजना हो । जीव मात्रै किन अजीव पनि ईश्वरकै सृजना हो । यसर्थ हरेक जीव र अजीव सबैले ईश्वरत्व बोकेका छन । सबै ईश्वरका हुन् र सबै ईश्वर समान छन् । यसले हामीलाई समदृष्टि राख्न सिकाएको छ । जब तपाईं कागको पुजा गर्नुहुन्छ, जब तपाईं कागलाई सम्मान गर्नुहुन्छ, तब त्यो तपाईंको उप्रतिको सम्मान हो । उप्रतिको धन्य भाव हो । काग आफैमा हाम्रो प्रकृतिको अभिन्न अङ्ग हो । हाम्रो इको सिस्टमको सन्तुलनमा यसको अहम भुमिका छ । जस्तो गिद्धको छ । यसकारण कागको पुजा गर्नु उसको सम्मान गर्नु हो, उसलाई प्रेम गर्नु हो । अनि भन्नुस् यदि तपाईं कागलाई समेत प्रेम गर्नुहुन्छ भने, मानिसप्रति तपाईं प्रेम गर्न किन नसक्ने ?

कुकुर घरको सिपाही हो । तपाईंको बफादार सेवक हो । तर कुकुर नाम घृणित पनि छ मानिसको लागि । कसैलाई तँ कुकुर भन्दिनुस उसले बत्तीसमा सोह्र ओइरिने गरेर बजाउँछ । यस्तो किन ? किनकि कुकुर घृणित पात्र हो मानिसको लागि । कुकुरले मानिसको मलमुत्र सेवन गर्छ । कुहिएको सडेको सिनु खान्छ । यसकारण कुकुर घृणित छ । तपाईंलाई थाहा छ ? कुकुरले मानिसजस्तो कहिल्यै विश्वास घात गर्दैन । तरपनि मानिस उसलाई घृणा गर्छन् । तर कुकुर केही हदसम्म प्रेमको पात्र पनि हो ।

जुन नामलाई मानिसले घिन र घृणाको दृष्टिले हेर्छ त्यसैलाई एकदिन फुलमाला लाएर पुज्छ पनि । कुकुरको नाम मानिससँग जोड्दा त मानिसले आफू भित्रको मानवता गुमाइसक्छ भने त्यही कुकुरलाई पुज्दा मानिसको अहमता र आत्मसम्मान कसरी जीउँदो रहन्छ ? यो मैले बुझ्न नसकेको कुरा हो । जेहोस् पुज्छौँ कुकुरलाई । अति निकृष्ट अर्थ लाएर हेर्छौँ जसलाई, फेरि पुज्छौँ उसैलाई । किनकि हामीलाई सिकाएको यहि छ । कसैको अघि झुक्नु भन्दा बेस शिर काटियोस् भन्ने जीव हो मानिस, तथापि कुकुर पुज्छ । किनकि यो उसले मानेको संस्कृति हो । यहि उसको धर्मले सिकाएको ज्ञान हो । यसले उसको आत्मसम्मान गुम्दैन । अहमता टुट्दैन । बरु स्वीकार गर्न तयार हुन्छ एक दिनको लागि कुकुरलाई ईश्वरको रुपमा ।

तर गाँठी कुरा के हो ? वैद्धिक दर्शनले किन यस्तो सिकायो ? यसकारण कि, यसले दर्शाउँदै छ फेरिपनि, कि प्रत्येक जीव न सानो छ न ठूलो । न असल छ न खराब । न उत्कृष्ट छ न निकृष्ट । मात्रै सबै एक सृजना हुन र सबै आफैमा उत्कृष्ट हुन । यसर्थ सबै बराबर हुन । यसलाई तपाईं जसरी बुझ्नुहोस्, तर यसको अर्थ तपाईंको मानिस हुनुको र मानिस भित्रको पनि ठूलो ठालु हुनुको गौरवलाई ध्वस्त पारेर तपाईंको जीवत्वको यथार्थ औकातमा उभ्याउनु हो । र सबैलाई समान ढङ्गले हेर्न र बुझ्न सिकाउनु हो । गहिरिएर बोध गर्नुहोस् त ! यदि तपाईंले कुकुर समेतलाई प्रेम, सम्मान र अर्चना गर्न सक्नुहुन्छ भने, मानिस-मानिसमा केको भेद अनि केको तँछाडमछाड ? यहि सन्देश हो गाई गोरु पुज्नुको पनि ।

अझ हामीले सालिग्राम पनि पुज्यौँ, जो एक पत्थर हो । हामीले पिपल पनि पुज्यौँ, जो एक रुख हो । अनि हामीले तुलसी पनि पुज्यौँ, जो एक झार सिवाय केही होइन । अनि हामीले के पुजिनौँ र ? बाघ, हात्ती, घोडा, सर्प, पहाड, नदि, कुण्ड, आखिर सबै त पुज्यौँ । तर बिडम्बना, पुज्नुको तात्पर्य बुझिनौँ । हामीले मानिस हुनुको अहमता त्याग्न सकेनौं । हामीले सबैलाई एकसमान देख्न सकेनौं । न विज्ञान मानेर सबैलाई अनन्त ब्रह्माण्डको समान शाश्वत सृजना मान्ननै सक्यौं न अध्यात्म मानेर सबैलाई ईश्वरको सृजनानै मान्न सक्यौं । न विज्ञानले भने अनुसारको जीवत्व र अस्तित्वको अर्थमा स्वीकार गर्‍यौँ न अध्यात्मको अनुसार प्रत्येक जीव ईश्वरको र प्रत्येक जीवमा ईश्वरनै देख्न सक्यौं ।

दुखको साथ भन्नुपर्छ, हामी केवल पुज्नेवालामा पर्छौँ तर बुझ्नेवालामा होइन । हामी केवल पढ्नेवालामा पर्छौँ तर जान्नेवालामा होइन । अनि हामी केवल मान्नेवालामा पर्छौँ तर सत्य र रहस्य खोज्नेवालामा होइन । यहि कारण त आज हाम्रा संस्कृतिहरुको बहिष्कार पनि दिनानुदिन बढ्दै छ । यसकारण त हामी दिनानुदिन पतनको मार्गमा धकेलिदै छौँ । अब समय आएको छ बुझ्नुपर्ने अनि ब्युझिनुपर्ने । अब समय आएको छ जाग्नुपर्ने र जान्नुपर्ने । यसकारण अबको नयाँ पुस्ताले संस्कृतिको विरोध गरेर होइन बरु संस्कृतिको सहि अर्थ खोजेर बढोस् । सम्पुर्ण अहमताको भावबाट मुक्त हुँदै प्रेम र समान अस्तित्वको पक्षधर रहँदै समग्र भेदभाव र समग्र असमान अन्यायपूर्ण व्यवहारबाट बाहिर निस्केर स्वयमलाई या स्वच्छ विज्ञानवादी र ब्रह्माण्डीय अस्तित्ववादीको रुपमा उभ्याउनुहोस् या स्वच्छ मानवतावादीको रुपमा । या स्वच्छ भौतिकवादी बनोस् या स्वच्छ अध्यात्मवादी । यी सबै सहि र मानवताको हितमै छन । यसर्थ अब सोच बदलौँ अनि प्रवृत्ति बदलौँ । अब केवल पुज्नेवालामा होइन बुझ्नेवालाको स्तरमा उक्लिएर सुन्दर सभ्यता निर्माणको स्वर्ण स्तम्भ बनौं ।

यही अस्तित्वको माग हो । यहि प्रकृतिको । यहि विज्ञानको माग हो र यहि अध्यात्मको पनि । अनि यहि मेरो आह्वान पनि । जय मानवता, जय जीवन जागृति । यमपञ्चक अर्थात् भाइ-तिहारको अनन्त शुभकामना ।