पुर्व मन्त्री राईको प्रतिस्पर्धिलाई चुनौती – ‘रामलिला मैदानमा बहस गरौँ’

बाँके, नेपाल सरकारका निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभाको लागी उम्मेदवारी दिएका नेता मोह्म्मद इस्तियाक राईले आफ्नो प्रतिस्पर्धीहरुलाई खुला रुपमा सार्बजनिक बहसका लागी चुनौती दिएका छन् । शनिबार नेपालगञ्जको म्याजेस्टिक होटेलमा आयोजना गरिएको नेता तथा कार्याकर्ता प्रशिक्षण एवं कार्य क्षेत्र बाँडफाँड कार्यक्रममा उनले चुनौती दिएका हुन् ।

file photo

उनले भने, ‘कसैले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ, झुटा बाचाहरू गरिरहेको छ। तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, रामलिला मैदान, धम्बोजी चोक, विपी चोक वा त्रिभुवन चोक तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘, ‘कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ, भन्ने कुराको प्रमाण मसँग पनि छ।’

तपाईंहरूसँग मेराविरूद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु। प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु ।’
नेपालगञ्जका निवर्तमान मेयर धवल शमशेर राणाले आफूलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछी अर्को सार्वजनिक भइरहेको राईले आरोप लगाएका छन् । उनले भने, ‘अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ । जसका विरुद्ध ३-३ वटा उजुरी परेको छ । उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन ।’

उनले विरोधीहरूले अरू केही मुद्दा नपाएर झुटा कुराहरू र धर्मको मुद्दालाई उठाउन थालेको बताए। केही दिन अघि विरोधीहरूले नेपालगन्जमा कन्जी हाउसको बारेमा झुटा भ्रमहरु फैलाएको पनि उनले बताए ।

‘त्यो बेला मैले पैसा दिन्छु भनेकै हुँ। तर मैले शर्त राखेको थिएँ कि नगरपालिकाले दीर्घकालीन योजना अघि सारोस्। भेरी अञ्चल अस्पतालको भवन शिलान्यास गर्दा भनेको हुँ। भिडियो अहिले पनि सुरक्षित छ’ त्यसलाई प्रष्ट्याउँदै राईले भने ‘तर त्यो बेलाका मेयरसाब अहिले चुनावी मैदानमा हुनुहुन्छ, उहाँले त्यो योजना ल्याएको खोई? उल्टै कोरोनाकालमा भेन्टिलेटर खरिद गर्न दिएको पैसा पनि फ्रिज गराइदिनु भयो। अहिले त्यस्ता भ्रमहरू छरेर चुनाव जितिन्न । मैले के-के काम गरेँ भन्ने प्रमाण जनताको हातहातमा छ ।’
निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले त्यस्ता भ्रमहरूको पछि नलाग्न र घरदैलोमा आउने विपक्षी दलका नेताहरूलाई ती प्रश्नहरू सोध्न पनि आह्वान गरे ।