पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको ।
आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार मात्र ‘फ्रि भिसा र फ्रि टिकट’ को आश्वासन दिएको विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो ।
प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं। १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’ को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । ‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हें’ भनी नेपालले दिएको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ उल्लेख छ । उक्त व्यवस्थाको उलङ्घन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ उपदफा (३) बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको उपदफा ९४० बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको आयोगले पत्र मार्फत नेपाललाई स्मरण गराएको छ । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्रसमेत पठाएको छ ।
आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि स्पष्टीकरण सोधेको थियो । गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ मा प्रचण्ड बाजागाजसहित उम्मेदवारी दर्ता गर्न गएपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो ।
पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टी नेपालका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई पनि आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिसकेको छ ।
यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
पौडेलका अनुसार राजनीतिक दलको निर्वाचन चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने राजनीतिक दलका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ । हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
काठमाडौँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पुकार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिसर्ट लगाएको भन्दै उजुरी परेपछि आयोगले उनलाई पनि स्पष्टीकरण सोधेको थियो ।
आयोगले काठमाडौँ महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपनि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं.२ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।