सडक मर्मत नहुँदा सामग्री ढुवानी खच्चडकै सहारा

जाजरकोट, जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् ।

 

 

जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्या देखिएको छ । सडक ठाउँ-ठाउँमा भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ । तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा कम नभएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ ।

भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालिमटी–बारेकोट, खलङ्गा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनीचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैँले बोकेर सामग्री लैजानुको विकल्प अर्को नभएको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको बताइएको छ ।