जानकी गाउँपालिकामा छोरी जीवन बिमा कार्यक्रम लागु

नेपालगन्ज, जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ ।छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भादौ २४ गते बसेको बसेको गाउँ कार्यपालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको हो ।

जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिए ।

यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाको तर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बिमाको प्रिमियम पर्नेगरी हुन आउने बिमाङ्क रकम बराबरको जीवन बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।

‘छोरी जीवन बीमा कार्यक्रम’लाई प्रभावकारी बनाउन पालिकाले सबै वडा कार्यालयलाई परिपत्र समेत गरेको छ । वडा कार्यालयलाई २०७९ साउन १ यता जन्मिएका छोरीहरुको आवश्यक कागजातसहितको सिफारिस पत्र स्वास्थ्य तथा सामाजिक बिकास शाखा अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शामा पठाउन भनेको छ ।