बाह्र वर्ष पछी गोरेको खुट्टाले उपचार पाउदैँ
दैलेख, नौमुले गाउँपालिका वडा नं ५ बस्ने हस्ते दमाईको छोरा बल बहादुर दमाई (गोरे) को बाह्र वर्ष देखी खुट्टामा भएको घाउको उपचार सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा सुरु भएको छ । विहान बेलुकी हातमुख जोड्न समेत धौधौ पर्ने गोरे दमाईको खुट्टामा माछा मार्ने क्रममा चोट लागेको थियो । पहिला सामान्य रूपमा लिइएको चोट पछि झन्झन् गहिरो घाउको रुपमा फैलिन थाल्यो ।
उपचार गर्ने पैसा भएन, नत सहयोग गर्ने कोहि आफन्त नै भए । गाउँपालिकाबाट पनि पार्टीका कार्यकर्ता आफन्त नातागोता र ताँठाबाथाले मात्रै राहत र उपचार खर्च पाए । अति विपन्न निमुखा दलित परिवारमा जन्मेको गोरे दमाईको हितको पक्षमा बोल्दिने र गर्दिने कोही भएन ।
सामान्य अवस्थाबाट झनझन् दर्दनाक बन्दै गएको घाउ क्यान्सर भयो कि भन्ने आशंका भयो । सानो घाउ क्यान्सर भै गोरेको ज्यानै लिन सक्ने खतरा भयो । नौमुले गाउँपालिकाका अध्यक्षमा छवि सुवेदी निर्वाचित भए पछि उहाँ गोरेको घरमै निजको स्वास्थ्य अवस्था बुझे, अवस्था अत्यन्तै जटिल भैसकेको देखेपछि पालिका अध्यक्ष छवि सुवेदी उपचारको लागी पहल सुरु गरे ।
नौमुले गापालिकाले दस हजार, नौमुले गाउपालिका वडा नं ६ का समाजसेवी हाल अमेरिका रहनु भएका मानेन्द्र चन्दको सहयोगमा दस हजार र विक्रम हमालले बीस हजार सापटी पैसा गरि जम्मा चालीस हजार आर्थिक व्यवस्थापन भयो । यसरी गोरेको उपचार खर्च जुटाइएको कुरा वडा नं ५ का वडा अध्यक्ष कृष्ण सलामीले बताए।
यति थोरै पैसाले त्यती जटिल समस्याको उपचार गर्न पुग्दैन । वास्तविक समस्या के हो भनेर पत्ता लगाउन थुप्रै चेकजाँच गर्नुपर्छ । त्यसको लागी आर्थिक चाहिन्छ । पैसा व्यवस्थापन गर्न समस्या भएको कुरा समेत निज वडा अध्यक्षले बताए ।