बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहलाई किन तोकियो साढे २ बर्ष जेल सजाय ?

काठमाडौँ, अभिनेता पल शाहलाई लागेको मुद्धाको नवलपुर जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्धामा भने साढे २ वर्षको कैद सजाय सुनाएको छ ।मंगलबार भएको बहसपछी जबरजस्ती करणी मुद्धामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा फैसला सुनाएका हुन । उनलाई जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरले शााहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो । जिल्ला अदालतले त्यो अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको बताए ।

‘आरोपितमाथि जबर्जस्ती करणीको आरोप ठहर हुन नसक्ने फैसला भएको छ,’ उनले भने, त्यो अभियोगमा सफाइ पाए पनि आरोपित शाहले बाल यौन दुरुपयोग गरेको देखियो, त्यही ठहरका आधारमा कैद र जरिवानाको फैसला भएको हो ।’ बुधबार अबेर फैसला भएकाले पूर्णपाठ तयार भएको छैन ।

मुलुकी अपराध संहिता ऐन, २०७४ मा बलात्कार (जबर्जस्ती करणी) र बाल यौन दुरुपयोगवारे छुट्टाछुट्टै व्यवस्था छ । ऐनको दफा २१९ मा कुनै पनि महिलाको मञ्जुरी नलिएमा वा १८ वर्षमुनिको किशोरीसँग मञ्जुरी लिएरै यौनसम्बन्ध राखेमा जबर्जस्ती करणी हुने व्यवस्था छ । यो मुद्दामा पीडित किशोरी घटना हुँदाका बखत १६ वर्षभन्दा मुनि र १४ वर्षभन्दा माथिकी भएकाले बलात्कार गरेको भए १२ देखि १४ वर्ष कैद सजाय भोग्नुपर्ने थियो ।

तर बलात्कारको आरोपमा कलाकार शाहलाई निर्दोष ठहर गरेका न्यायाधीश आचार्यले बाल यौन दुरुपयोगको आरोपमा भने पललाई दोषी ठहर गरे ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२५ मा बाल यौन दुरुपयोगवारे उल्लेख छ, जसमा बालबालिकालाई यौन सम्बन्धी क्रियाकलाप गराएमा बाल यौन दुरुपयोगको कसुर स्थापित हुने उल्लेख छ । त्यो कसुरमा बढीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।