टिकटक बनाउने क्रममा एक जनाको मृत्यु

दाङ, टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भीरबाट खसेका थिए । करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

मृतक केसी रा ५६७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ