विशिष्ठ श्रेणीका कर्मचारी पनि करारमा भर्ना गर्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने समयमा कार्यालय बाहिर गएर अरु काम नगर्न आग्रह गरेकी छन्।
शुक्रवार नेपाल राष्ट्रिय कर्मचारी महासंघ, जिल्ला समिती ललितपुरको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले कर्मचारीले सेवाग्राहीलाई दिनुपर्ने समयको ख्याल गर्नुपर्ने बताएकी हुन्।
भुसालले कर्मचारीको पेशागत सुरक्षाका लागि कर्मचारी महासंघले प्रभावकारी भुमिका खेलेको भन्दै यसमा सरकारी आवश्यक सहयोग समेत गरिरहेको बताइन्।
‘कर्मचारीको सेवा पारदर्शी हुनुपर्छ, सङ्घीय गणतान्त्रिक मूल्य मान्यतालाई ख्याल गरेर कर्मचारीले काम गर्नुपर्छ,’ उनले भनिन्, ‘राष्ट्र सेवक कर्मचारीका अधिकारको लागि म र मेरो मन्त्रालय प्रतिवद्ध छ।’ तर कतिपय कर्मचारी राजनीति स्वार्थ बोकेर हिँड्दा त्यसले प्रशासनिक विकृति ल्याएको उनले टिप्पणी गरिन्।
भुसालले सरकारी कर्मचारी सेवा प्रवाहमा नमुना बन्ने हो भने सेवाग्राहीलाई सहज हुने बताउँदै त्यसले प्रशानिक सुधार ल्याउने बताइन्।
२०७५ मा आएको संघीय निजामती ऐनलाई कार्यान्वयन भन्दा पनि संशोधन गर्नुपर्ने पनि उनले बताइन्। उक्त ऐनमा विशिष्ट श्रेणीका कर्मचारी करारमा ल्याउने व्यवस्था पनि सुरु गर्दा उचित हुने उनको भनाइ छ। त्यसको लागि आफूले ऐन संशोधनको प्रस्ताव संसदमा लगे पनि पास नभएको उनले बताइन्।
महासंघ जिल्ला समिति ललितपुरका अध्यक्ष काशी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि बोलेका थिए।
कर्मचारीको हक हित र समस्या समाधानको लागि महासंघले भूमिका निभाउँदै आएको उनले बताए। यस्ता सङ्गठनले कर्मचारीको अझ मनोबल बढाउने गरि काम गर्नुपर्ने तर्क राखे। सम्मलेनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ।