वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही

काठमाडौं, नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतको पद सिर्जना गरिएको छ । 

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकोमा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए ।  देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो । 

यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो । 

यस्तै वाईईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका थियो । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा थिए । आन्तरिक छलफलपछि शाहीले बाजी मारेका छन् ।